मन्त्री निशा मेहतासँग यौनिक अल्पसंख्यकको स्वास्थ्य अधिकारमा छलफल

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
मन्त्री निशा मेहतासँग यौनिक अल्पसंख्यकको स्वास्थ्य अधिकारमा छलफल

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले स्वास्थ्य सेवा लिने क्रममा भोग्दै आएको विभेद, असहजता र नीतिगत अस्पष्टता अन्त्य गर्न सरकारसँग ठोस पहलको माग गरेको छ।

मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग भेट गरी समुदायको स्वास्थ्य अधिकार, उपचारमा पहुँच र आवश्यक नीतिगत सुधारबारे ध्यानाकर्षण गराएका हुन्।

छलफलमा विशेषगरी हर्मोन थेरापी, लैंगिक पहिचानअनुकूल शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको उपलब्धतासँग जोडिएका विषय उठाइएको थियो। प्रतिनिधिहरूले विद्यमान स्वास्थ्य संरचना सबै नागरिकका फरक आवश्यकता सम्बोधन गर्न पर्याप्त संवेदनशील र सहज बन्न नसकेको जनाउँदै सेवा प्रदायकको व्यवहारदेखि उपचारसम्बन्धी प्राविधिक व्यवस्थासम्म सुधार आवश्यक रहेको बताएका थिए।

भेटमा मायाको पहिचान नेपालका संस्थापक सुनिल बाबु पन्तसहित समुदायका विभिन्न प्रतिनिधिको सहभागिता थियो।

मन्त्री मेहताले स्वास्थ्य सेवा पाउने अधिकार नागरिकको पहिचान वा यौनिकताका आधारमा सीमित हुन नसक्ने बताउँदै सबैलाई सम्मानजनक, गुणस्तरीय र विभेदरहित सेवा उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उल्लेख गरिन्।

विज्ञापनविकिबिजि

उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विशिष्ट स्वास्थ्य आवश्यकता सम्बोधन गर्न मन्त्रालय नीतिगत र प्राविधिक दुवै तहमा सकारात्मक रहेको बताइन्। सम्बन्धित सरकारी निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवाला संस्थासँग समन्वय गरी आवश्यक पहल अघि बढाइने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गरेकी छन्।

समुदायका प्रतिनिधिले भने प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै स्वास्थ्य संस्थामा सुरक्षित वातावरण, दक्ष जनशक्ति र स्पष्ट उपचार निर्देशिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।