नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English Hindi
नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका क्रममा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र भूमिकाबारे पनि अनुसन्धान भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले चिकित्सकीय सुरक्षा र उपचार सेवाको वातावरणबारे फेरि गम्भीर प्रश्न उठाएको छ। घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग समन्वय तीव्र बनाएकी थिइन्।

मन्त्रालयका अनुसार मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, स्थानीय सुरक्षा अधिकारी, नारायणी अस्पताल प्रशासन र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग घटनाको वास्तविकता बुझ्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन पहल गरेकी हुन्।

घटनास्थलको अवस्था अध्ययन गर्न, विकसित परिस्थितिको अनुगमन गर्न र आवश्यक समन्वय मिलाउन मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ। टोलीले अस्पताल प्रशासन, सुरक्षा निकाय र सरोकारवाला पक्षसँग छलफल गरी घटनासम्बन्धी विवरण संकलन गर्ने मन्त्रालयले जनाएको छ।

आक्रमणमा घाइते मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन पनि मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उनको उपचारका लागि आवश्यक व्यवस्था सरकारले मिलाएको मन्त्रालयको भनाइ छ।

विज्ञापनविकिबिजि

मन्त्री मेहताले स्वास्थ्य संस्थाभित्र हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएकी छन्। घटनामा दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउने र नागरिकले निर्भय रूपमा उपचार सेवा लिन पाउने अवस्था सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाएकी छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन। घटनाको पृष्ठभूमि, आक्रमणमा संलग्न व्यक्तिको संख्या र उनीहरूको भूमिकाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।