सुनील लम्सालद्वारा नागढुंगा सुरुङमार्ग उद्घाटन, आजदेखि सञ्चालन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सुनील लम्सालद्वारा नागढुंगा सुरुङमार्ग उद्घाटन, आजदेखि सञ्चालन

लामो प्रतीक्षापछि नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं उपत्यकामा प्रवेश र बाहिरिने मुख्य नाका नागढुंगाको बढ्दो ट्राफिक चाप कम गर्ने उद्देश्यले निर्माण गरिएको सुरुङमार्गको उद्घाटन सोमबार पूर्वाधार विकास मन्त्री सुनील लम्सालले गरे।

उद्घाटन समारोहमा नेपालका लागि जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको पनि सहभागिता रहेको थियो। आयोजना जापानको ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो।

यद्यपि सुरुङमार्ग आजदेखि सञ्चालनमा आए पनि प्रारम्भिक चरणमा दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै प्रयोग गर्न दिइने भएको छ। सञ्चालन प्रणाली, टोल व्यवस्थापन र प्राविधिक जनशक्तिलाई पूर्ण रूपमा अभ्यस्त बनाउन केही समय लाग्ने भएकाले सर्वसाधारणका लागि सेवा क्रमिक रूपमा विस्तार गरिने आयोजनाले जनाएको छ।

हराएको शिलालेख पुनर्स्थापना गर्ने प्रतिबद्धता

उद्घाटनका क्रममा मन्त्री लम्सालले सुरुङमार्ग शिलान्यासका बेला राखिएको शिलालेख पुनःस्थापना गरिने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते आयोजना शिलान्यास गरेका थिए। त्यसबेला राखिएको उनको नाम अंकित शिलालेख पछि हटाइएको विषयलाई लिएर सार्वजनिक रूपमा विवाद हुँदै आएको थियो।

मन्त्री लम्सालले हराएको शिलालेख खोजी गरी पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोजना निर्माणको सम्पूर्ण इतिहासलाई सम्मान गरिने बताए।

विज्ञापनविकिबिजि

सम्भाव्यता अध्ययनदेखि उद्घाटनसम्म

नागढुंगा सुरुङमार्गको अवधारणा करिब डेढ दशकअघि अघि सारिएको थियो। यसको सम्भाव्यता अध्ययन २०६६/६७ सालतिर तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई नेतृत्वको समयमा अघि बढाइएको थियो।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको औपचारिक शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ कार्यक्रम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो। लामो निर्माण प्रक्रिया पार गर्दै आयोजना अन्ततः औपचारिक सञ्चालनमा आएको हो।

‘अब नेपाल सुरुङ युगमा प्रवेश गरेको छ’

उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले नागढुंगा परियोजनाले नेपाललाई आधुनिक सडक पूर्वाधारतर्फ नयाँ चरणमा प्रवेश गराएको बताए।

उनका अनुसार यस आयोजनाबाट प्राप्त अनुभवका आधारमा देशका अन्य भौगोलिक रूपमा जटिल क्षेत्रमा पनि सुरुङमार्ग निर्माण अघि बढाइनेछ। “अब नेपाल सुरुङ युगमा प्रवेश गरेको छ,” उनले भने।

सुरुङको संरचना

आयोजनाअन्तर्गत मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने आपत्कालीन अवस्थाका लागि छुट्टै २.५५७ किलोमिटर लामो सहायक सुरुङ निर्माण गरिएको छ। यसलाई अत्याधुनिक सुरक्षा प्रणालीसहित सञ्चालनमा ल्याइएको आयोजना पक्षको भनाइ छ।

कति लाग्छ टोल?

सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि वर्गअनुसार शुल्क निर्धारण गरिएको छ।

  • कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी: काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ।
  • मिनीबस तथा मिनी ट्रक/ट्रिपर: प्रवेशमा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ।
  • बस तथा सिंगल रियर एक्सल ट्रक: प्रवेशमा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ।
  • मल्टी एक्सल ट्रक, भारी सवारी तथा हेभी इक्विपमेन्ट: प्रवेशमा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ।

यी सवारीलाई प्रवेश निषेध

सुरुङ सञ्चालन तथा मर्मत एकाइका अनुसार सुरक्षालाई प्राथमिकता दिँदै दुई पाङ्ग्रे सवारी साधन, तरल तथा ग्यास इन्धन बोकेका सवारी, पशुपक्षी ओसारपसार गर्ने सवारी र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। विशेषगरी चाडपर्व र अत्यधिक सवारी चाप हुने समयमा यात्राको अवधि छोटिने र सडक सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने सरकारी विश्वास छ।