स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधनमा सुझाव दिने म्याद आज सकिँदै

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधनमा सुझाव दिने म्याद आज सकिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामाथि सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव लिने अवधि आज समाप्त हुने जनाएको छ।

मन्त्रालयले साउन ६ गते मस्यौदा सार्वजनिक गर्दै सात दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको थियो। इच्छुक व्यक्ति, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्था तथा अन्य सरोकारवालाले मन्त्रालयको कानून शाखाको इमेलमार्फत आफ्ना सुझाव पठाउन सक्ने व्यवस्था गरिएको थियो।

प्रस्तावित संशोधनले स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र हिंसाका घटनालाई थप गम्भीर कानुनी दायरामा ल्याउने उद्देश्य राखेको छ। पछिल्ला वर्षहरूमा उपचारका क्रममा विवाद, तोडफोड र स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारका घटनाले स्वास्थ्य सेवा प्रभावित भइरहेका बेला सरकारले कानुनी व्यवस्था बलियो बनाउन पहल गरेको हो।

मस्यौदामा स्वास्थ्य विषय अध्ययनरत विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने प्रस्ताव गरिएको छ। साथै, हतियारसहित आपराधिक बल प्रदर्शनलाई निषेधित कार्यको सूचीमा राख्ने व्यवस्था पनि समावेश गरिएको छ।

यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने अधिकार दिने प्रस्ताव पनि गरिएको छ, जसबाट सुरक्षा सम्बन्धी व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापनविकिबिजि

मन्त्रालयले प्राप्त सुझावहरूको अध्ययन र आवश्यक परिमार्जनपछि विधेयकलाई कानुनी प्रक्रियाअनुसार अगाडि बढाइने जनाएको छ। संशोधित ऐन लागू भएमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी संरचना थप स्पष्ट र कडा हुने अपेक्षा गरिएको छ।