स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय, नियमित बैठक बस्ने
लामो समयदेखि निष्क्रिय बनेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समिति पुनः सक्रिय भएको छ। स्वास्थ्य सेवा प्रवाहसँग जोडिएका सुरक्षा र व्यवस्थापकीय चुनौतीलाई समयमै सम्बोधन गर्ने उद्देश्यसहित समितिले अब नियमित रूपमा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मङ्गलबार बसेको समितिको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार सञ्चालन हुँदै आएको दर्ता तथा नवीकरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो। मन्त्रालयका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ पारदर्शी र व्यवस्थित बनाइनेछ।
बैठकले विद्यमान ऐन तथा नियमावलीमा आवश्यक सुधारका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिबाट लिखित सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ। मन्त्रालयले तोकेको इमेलमार्फत प्राप्त सुझावका आधारमा कानुनी संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।
समितिको कार्यसम्पादनलाई नियमित र प्रभावकारी बनाउन छुट्टै समर्पित इमेल समूह सञ्चालन गर्ने निर्णय समेत गरिएको छ। यसमार्फत बैठकका एजेन्डा, निर्णय र आवश्यक सूचनाको आदानप्रदानलाई व्यवस्थित बनाइने मन्त्रालयको भनाइ छ।
यसैबीच, हालसम्म भएका कामको समीक्षा, विगतका गतिविधिको अभिलेखीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ। उपसमितिमा डा. कुन्जाङ शेर्पा, डा. सञ्जिव तिवारी र रोजिना तण्डुकार सदस्य रहेका छन्।
बैठकले अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय पनि गरेको छ। समितिले नियमित बैठक र प्रभावकारी समन्वयमार्फत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासँग सम्बन्धित समस्या समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
