राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न उनी राष्ट्रपति निवास पुगेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले देशको समसामयिक राजनीतिक अवस्था, सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिलगायत विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको र ती विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ।

त्यसैगरी, सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकका विषयमा पनि लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका थिए। पछिल्ला घटनाक्रमप्रति राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने प्रयास भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रपति र प्रमुख राजनीतिक दलका नेताबीच समय–समयमा हुने भेटघाटलाई संवैधानिक अभ्यासका रूपमा लिइन्छ। यस्ता भेटमा राष्ट्रिय महत्वका विषय, राजनीतिक वातावरण तथा समसामयिक चुनौतीबारे धारणा आदानप्रदान हुने गरेको छ।