सुनसरीमा दुई समुदायबीच झडप, एक युवाको मृत्यु

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सुनसरीमा दुई समुदायबीच झडप, एक युवाको मृत्यु

डिजे बजाएको निहुँबाट सुरु भएको मध्यरातिको झडपले दुई समुदायबीच अहिले सुनसरी जिल्लामा ठूलो तनाव सिर्जना गरेको छ । झडप रोक्न भनेर फिल्डमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोली लागेर एकजना युवाको ज्यान नै गइसकेको छ भने बाँकी धेरैजना घाइते भएका छन् ।

सोही जिल्लाबाट निर्वाचित रास्वपाका सांसद लालबिक्रम थापाले गोली चलाउनै नपर्ने अवस्थामा पनि अन्धाधुन्ध गोली प्रहार गरेर युवाहरूलाई छातीमा ताकी-ताकी गोली हानेको आरोप लगाएका छन् भने, अहिले अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि जिल्ला प्रशासनले देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि अर्थात् अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

आज एकदमै दुःखद खबर छ। मिलेर बसेको हाम्रो समाजलाई धर्मको नाममा विभाजित गर्ने षड्यन्त्रको सिकार पटकपटक नेपालीहरू पर्न थालेका छन् भने यो क्रम दैनिक बढिरहेको छ ।

हिजो राति करिब १० बजेतिर साउने सोमबारको बोलबम यात्राका लागि भन्दै एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद धकेलाधकेल हुँदै दुई समुदाय नै हिंस्रक बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।

झडपमा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २४ वर्षीय ओमप्रकाश मेहतालाई सशस्त्र प्रहरीले चलाएको गोली लागेको थियो। त्यसपछि उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ ।

विज्ञापनविकिबिजि

यस्तै, झडप र ढुङ्गामुढा नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी कुल २१ देखि २२ जना घाइते भएका छन् ।

स्थानीय सर्वसाधारणतर्फ मिथलेश यादव (२२ वर्ष), अमलेश मेहता (१८ वर्ष), मिथलेश मेहता (२५ वर्ष) र अमितकुमार यादव (२० वर्ष) घाइते भई कोशी अस्पतालमा उपचार गराइरहेका छन् भने, रविन्द्र मेहता (२१ वर्ष), अमितकुमार यादव (१८ वर्ष), सुनिलकुमार मेहता (२५ वर्ष) र सुनिलकुमार मेहता (२६ वर्ष) को विराट नर्सिङ होममा उपचार भइरहेको छ।

नेपाल प्रहरीतर्फ टाउकोमा गम्भीर चोट लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईसहित प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी जवान बुद्धदेव साह र निवेश यादव घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका ५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

हिजो राति यो घटना घटेलगत्तै घटनास्थल पुगेका रास्वपा सांसद लालबिक्रम थापाले प्रहरीले ताकी-ताकी युवाहरूको छातीमा गोली हानेको आरोप लगाएका छन्। सांसद थापाले आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा, केही प्रहरी अधिकारीसँग कुरा गर्दै यो घटनामा गोली चलाउनुपर्ने स्थिति नरहेको र फिल्डमा खटिएका प्रहरीहरूले समन्वय नगरीकन गोली चलाएको भन्दै आपत्ति जनाएका छन् ।

साथै, यस घटनापछि हाल सामाजिक सञ्जालमा प्रहरीको गोली हिन्दु युवाहरूमाथि मात्र लागेको भन्दै एक प्रकारको आक्रोश पनि पैदा भएको देखिन्छ ।