देवानगञ्जबारे सर्वदलीय बैठक, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
देवानगञ्जबारे सर्वदलीय बैठक, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

सुनसरीको देवानगञ्जमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधि सहभागी भए पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङ भने उपस्थित भएनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बसेको छलफलमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित रहे। उनले पार्टी महासचिव शंकर पोखरेललाई प्रतिनिधिका रूपमा पठाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि सहभागी भएनन्। उनको तर्फबाट प्रमुख सचेतक आर्यन राई बैठकमा उपस्थित भएका छन्।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँगै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीसहितका दललाई छलफलका लागि आमन्त्रण गरिएको थियो। सम्बन्धित दलका नेताहरूलाई औपचारिक पत्र पठाउनुका साथै सभापति लामिछानेले व्यक्तिगत रूपमा फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका थिए।

देवानगञ्जको घटनापछि तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला सामाजिक रूपमा फैलिन सक्ने द्वेष कम गर्ने र राजनीतिक तहबाट साझा सन्देश दिने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।

विज्ञापनविकिबिजि

महामन्त्री आचार्यले संवेदनशील र दुःखद घटनाले निम्त्याएको असहज परिस्थितिमा प्रशासनिक प्रयाससँगै राजनीतिक दलहरूको सामूहिक अपिल आवश्यक देखिएको बताए। उनका अनुसार बैठकमा सामाजिक सद्भाव कायम राख्ने, शान्ति–सुरक्षाको वातावरण बलियो बनाउने र उत्तेजना फैलिन नदिने विषयमा छलफल केन्द्रित गरिएको छ।

देवानगञ्ज घटनापछि सरकारको भूमिकामाथि आलोचना बढिरहेका बेला सरकारका तर्फबाट मुख्य जिम्मेवारीमा रहेका प्रधानमन्त्री र गृहमन्त्री बैठकमा उपस्थित नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी शान्ति–सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा आयोजित छलफलमा गृहमन्त्रीको अनुपस्थितिले थप प्रश्न उठाएको छ।

बैठकमा सहभागी दलहरूले घटनालाई थप उत्तेजित बनाउने गतिविधि रोक्न, संयम अपनाउन र सामाजिक सद्भाव खल्बलिन नदिने गरी साझा राजनीतिक धारणा बनाउनुपर्नेमा जोड दिएका छन्।