धर्मको आडमा ‘माता’ बनेर महिलामाथि दुर्व्यवहार गर्ने समिर थापा पक्राउ
यो संसारलाई कुनै पनि धर्मबाट खतरा छैन। खतरा छ त केवल आफ्नो स्वार्थ पूरा गर्न, आफ्नो भुँडी पाल्न र समाजमाथि प्रभाव जमाउन धर्मको गलत व्याख्या तथा गलत प्रयोग गर्ने ढोँगी र तथाकथित धर्मका ठेकेदारहरूबाट।
यस्ता ठेकेदारहरू कुनै एउटा धर्ममा मात्र सीमित छैनन्। हरेक धर्म र समुदायमा यस्ता पात्रहरू भेटिन्छन्, जसले धर्मलाई आफूअनुकूल व्याख्या गर्छन्, नागरिकलाई भ्रममा राख्छन् र समाजमा अन्धविश्वास, हिंसा तथा घृणाको बीउ रोप्छन्।
‘पाथिभरा माता’ नामले चिनिएका समिर थापा पक्राउ
यस्तै एक घटनामा लामो समयदेखि सामाजिक सञ्जालमा आफूलाई ‘पाथिभरा माता’ भनेर चिनाउँदै आएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ बस्ने अन्दाजी २४ वर्षीय समिर थापा, जो सामाजिक सञ्जालमा ‘पाथिभरा माता’ नामले परिचित थिए, एक महिलामाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।
पुरुष भए पनि उनले आफ्नो हुलिया पूर्ण रूपमा महिलाको, अझ भनौँ धार्मिक ‘माता’को जस्तै बनाएका थिए। सामाजिक सञ्जालमा आफूलाई शक्तिशाली धार्मिक माता भन्दै प्रस्तुत गर्ने थापा विभिन्न भिडियो, लाइभ तथा धार्मिक गतिविधिका कारण चर्चामा रहँदै आएका थिए।
तर उनको वास्तविकता त्यतिबेला थप विवादमा आयो, जब एउटा भिडियो सार्वजनिक भयो। उक्त भिडियोमा उनले एक महिलालाई ‘बोक्सी’ को आरोप लगाउँदै सार्वजनिक रूपमा दुर्व्यवहार गरेको, कुटपिट गरेको र आफ्नै खुट्टाको पैताला चाट्न जबरजस्ती गरेको देखिएको थियो।
एउटी महिलालाई मानिसहरूको भिडमा उभ्याएर बोक्सी घोषणा गर्नु, उनको बेइज्जत गर्नु, कुटपिट गर्नु र आफ्नो खुट्टाको पैताला चाट्न लगाउनु सामान्य घटना होइन। यो केवल एक व्यक्तिमाथिको दुर्व्यवहार मात्र नभई महिलाको आत्मसम्मान, सामाजिक प्रतिष्ठा र आधारभूत मानव अधिकारमाथिको गम्भीर प्रहार हो।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाप्रति चौतर्फी आलोचना भएको थियो। त्यसलगत्तै प्रहरीले सोही घटनाको छानबिनका लागि समिर थापा उर्फ ‘पाथिभरा माता’लाई पक्राउ गरेको हो।
हाल प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।
आफूलाई ठूलो धार्मिक माता र शक्ति प्राप्त व्यक्ति बताउँदै आएका थापाका अन्य विवादास्पद भिडियोहरू पनि यसअघि सार्वजनिक भएका थिए। एउटा भिडियोमा उनी खुलेआम मदिरा सेवन गरिरहेको अवस्थामा देखिएका थिए।
धार्मिक आस्था र माताको नाममा मानिसलाई उपदेश दिने व्यक्ति स्वयं मदिरा सेवन गरिरहेको भिडियो सार्वजनिक भएपछि उनको चरित्र, गतिविधि र धार्मिक दाबीमाथि पनि प्रश्न उठेको थियो।
त्यस्तै, केही दिनअघि आफ्नो चरित्र हत्या गरिएको भन्दै उनी फेसबुक लाइभमा आएका थिए। सोही क्रममा उनले विष सेवन गरेको बताइएको थियो। त्यसपछि तत्कालै उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
यद्यपि, उनले विष सेवन गरेको घटना आफ्नो ठाउँमा छ। तर त्यसले एउटी महिलामाथि गरिएको सार्वजनिक दुर्व्यवहार, कुटपिट र बोक्सीको आरोपलाई ढाक्न सक्दैन।
विज्ञानको युगमा पनि अन्धविश्वासको खेल
एउटी महिलामाथि सार्वजनिक रूपमै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गर्नु सकारात्मक कदम हो। धर्मको आडमा समाजमा भ्रम, घृणा र अन्धविश्वास फैलाउने यस्ता ढोँगीमाथि कानुनअनुसार कडा कारबाही हुनैपर्छ।
तर यहाँ अचम्म र दुःख लाग्ने अर्को पक्ष पनि छ।
आज विश्व विज्ञान र प्रविधिको उच्चतम विकासतर्फ अघि बढिरहेको छ। अन्य देशले रोबोट, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष प्रविधि र नयाँ वैज्ञानिक आविष्कारमा प्रतिस्पर्धा गरिरहेका छन्। तर हाम्रो समाजमा भने अझै पनि बोक्सी, माता, झाँक्री र चमत्कारका नाममा मानिसमाथि दुर्व्यवहार भइरहेको छ।
अझ दुःखद कुरा त के छ भने यस्ता ढोँगीलाई अगाडि बढाउने, चर्चित बनाउने र शक्तिशाली बनाउने काम पनि हामीले नै गरिरहेका छौँ।
हामी आफूलाई पढेलेखेका, सचेत र आधुनिक नागरिक भन्छौँ। तर सामाजिक सञ्जालमा कुनै व्यक्तिले माता, बाबा वा धार्मिक गुरुको भेष धारण गर्नेबित्तिकै उसलाई विश्वास गर्न थाल्छौँ। टिकटक र फेसबुक लाइभमा गिफ्ट पठाउँछौँ, उसका कुरा शेयर गर्छौँ र बिना प्रमाण उसका दाबीलाई सत्य ठान्छौँ।
नौटङ्की गर्नेले जे पनि गर्न सक्छ। कसैले धार्मिक पहिरन लगाउन सक्छ, कसैले फरक आवाजमा बोल्न सक्छ, कसैले आफूमा दैवी शक्ति आएको दाबी गर्न सक्छ। तर त्यसलाई पत्याउने वा नपत्याउने जिम्मेवारी हामी नागरिककै हो।
यस्ता ढोँगीहरू गल्लीगल्लीमा जन्मिन सक्छन्। सामाजिक सञ्जालले त अझ उनीहरूलाई रातारात चर्चित बनाइदिन सक्छ। तर उनीहरूलाई अगाडि बढ्न दिने वा नदिने निर्णय अन्ततः समाजकै हातमा हुन्छ।
सबैले आफ्नो धर्म र संस्कृति मान्न पाउनुपर्छ। धर्म र संस्कृतिको संरक्षण पनि हुनुपर्छ। तर धर्म मान्ने नाममा आफ्नो पेट पाल्न र मेहनत नगरी चर्चित बन्नका लागि माता, बाबा वा गुरु बनेकाहरूलाई साथ र समर्थन गर्दै जाने हो भने हाम्रो समाज कहाँ पुग्छ?
यो प्रश्न अब गम्भीर रूपमा सोच्नुपर्ने भएको छ।
पीडित महिलाको सम्मान कसले फिर्ता गर्छ?
अब एकपटक त्यो महिलाको अवस्थाबारे सोचौँ, जसलाई सार्वजनिक रूपमा ‘बोक्सी’ को ट्याग लगाइयो।
उनले अब आफ्नो समाजमा कसरी शिर उठाएर हिँड्ने? आफन्त, छिमेकी र गाउँसमाजले उनलाई कुन दृष्टिले हेर्ने? उनका परिवार र सन्तानले कस्तो मानसिक पीडा भोग्ने?
पाथिभरा माता भनेर चिनिएका व्यक्तिले लगाएको आरोप झुटो वा ढोँगमा आधारित भए पनि भिडमा रहेका धेरै मानिसले त्यसलाई सत्य ठानेका हुन सक्छन्। “माताले भनेको कुरा साँचो होला” भन्नेहरू आज पनि हाम्रो समाजमा प्रशस्त छन्।
त्यसैले एउटा गलत आरोपले महिलाको वर्तमान मात्र होइन, उनको सम्पूर्ण जीवन बर्बाद गर्न सक्छ।
उनले नखाएको विषको असर अब उनलाई जिन्दगीभर लाग्न सक्छ। उनलाई मात्र होइन, भोलिका दिनमा उनका सन्तानसम्मलाई “तेरी आमा त बोक्सी थिइन् रे” भन्ने सामाजिक कलङ्क लाग्न सक्छ।
कसैको जीवनमाथि यस्तो गम्भीर आरोप लगाएर, सार्वजनिक बेइज्जत गरेर र समाजमा उसको चरित्र समाप्त पारेर एउटा ढोँगी सजिलै उम्किन पाउँछ?
त्यो महिलाको गिरेको आत्मसम्मान कसरी फिर्ता हुन्छ? सार्वजनिक रूपमा लुटिएको उनको इज्जत कसले फिर्ता दिन्छ? उनलाई परेको मानसिक, सामाजिक र पारिवारिक क्षतिको क्षतिपूर्ति कसले गर्छ?
यी प्रश्नको जवाफ प्रहरीले गर्ने अनुसन्धान र अदालतको निर्णयले मात्र पूरा गर्न सक्दैन। समाज पनि यसप्रति जिम्मेवार हुनुपर्छ।
कुनै व्यक्तिलाई ‘बोक्सी’ घोषणा गर्नु अपराध हो। धर्मको नाममा कुटपिट गर्नु अपराध हो। कसैलाई अपमानित गर्दै खुट्टा चाट्न बाध्य पार्नु अपराध हो। धार्मिक आस्थाको दुरुपयोग गरेर समाजमा आतंक र भ्रम फैलाउनु पनि गम्भीर विषय हो।
त्यसैले सबै नागरिकलाई हाम्रो अपिल छ—आजकल चोकचोकमा भेटिने यस्ता ढोँगीहरूबाट जोगिएर बसौँ। सामाजिक सञ्जालका भित्तामा भेटिने धर्मका तथाकथित ठेकेदारहरूबाट सचेत बनौँ।
कसैले आफूलाई माता, बाबा, गुरु वा दैवी शक्ति भएको व्यक्ति भन्दैमा उसको कुरा विश्वास नगरौँ। उसको गतिविधि, व्यवहार र दाबीलाई तथ्य, प्रमाण र विवेकका आधारमा मूल्याङ्कन गरौँ।
धर्म मानिसलाई जोड्ने माध्यम हो, तोड्ने होइन। धर्मले प्रेम, करुणा, सद्भाव र मानवताको शिक्षा दिन्छ। तर धर्मकै नाममा कसैमाथि कुटपिट, अपमान, घृणा र हिंसा गरिन्छ भने त्यो धर्म होइन, धर्मको व्यापार हो।
हाल पक्राउ परेका समिर थापा उर्फ ‘पाथिभरा माता’माथि निष्पक्ष अनुसन्धान होस्। महिलामाथि सार्वजनिक रूपमा दुर्व्यवहार, कुटपिट र बोक्सीको आरोप लगाएको घटना प्रमाणित भए कानुनअनुसार कडा भन्दा कडा कारबाही होस्।
यो कारबाही एउटा व्यक्तिमाथिको सजायमा मात्र सीमित नहोस्। यसले भोलिका दिनमा धर्मको आडमा अरूमाथि दुर्व्यवहार गर्ने, बोक्सीको आरोप लगाउने र समाजमा अन्धविश्वास फैलाउने अन्य ढोँगीहरूलाई समेत स्पष्ट सन्देश दिन सकोस्।
किनकि यस्ता घटनालाई सामान्य मानेर छाड्दै जाने हो भने दोष केवल ढोँगीको मात्र हुँदैन। उनीहरूलाई विश्वास गर्ने, समर्थन गर्ने, प्रचार गर्ने र मौन बसेर हेर्ने हामी सबै पनि उत्तिकै जिम्मेवार हुन्छौँ।
