धनुषामा मृत फेला परेका बन्ठु राउत पुजारी नभएको पुष्टि
धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका करिब ४० वर्षीय बन्ठु राउत कडेरीलाई मन्दिरका पुजारीका रूपमा चिनाइएको सूचना गलत भएको प्रहरीले स्पष्ट पारेको छ। घटनापछि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी मन्दिरका पुजारी रहेको दाबी गरिए पनि प्रारम्भिक अनुसन्धानले त्यसको पुष्टि नगरेको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक कडेरी मन्दिरका नियमित पुजारी नभएको जानकारी दिएका छन्। यसै विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले पनि विज्ञप्ति जारी गर्दै फैलिएको भ्रमप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मृतक मन्दिरमा पुजारीको जिम्मेवारी सम्हाल्ने व्यक्ति नभई विभिन्न स्थानमा घुमफिर गर्ने र बेलाबेला मन्दिर परिसरमा आएर बस्ने गरेका थिए। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीको अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो।
प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरेको जनाएको छ। घटनामा संलग्न व्यक्ति वा समूह जोसुकै भए पनि कानुनी प्रक्रियाअनुसार कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ।
यसबीच प्रहरीले घटनालाई धार्मिक कोणबाट व्याख्या नगर्न विशेष आग्रह गरेको छ। हालसम्म प्राप्त प्रमाण र अनुसन्धानका आधारमा घटना कुनै धार्मिक विवादसँग जोडिएको देखिएको छैन भन्ने प्रहरीको भनाइ छ। अनुसन्धान पूरा नहुँदै अपुष्ट सूचना फैलाउँदा समाजमा अनावश्यक भ्रम र तनाव उत्पन्न हुन सक्ने भएकाले आधिकारिक जानकारीलाई मात्र आधार बनाउन प्रहरीको अनुरोध छ।
