अजयमेरुका ७ अव्यवस्थित बसोबासी परिवारले पाए लालपुर्जा
डडेलधुराको अजयमेरु गाउँपालिका–२ का सात अव्यवस्थित बसोबासी परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि बसोबास गर्दै आए पनि कानुनी रूपमा जग्गाको स्वामित्वबाट वञ्चित रहेका ती परिवार अब राज्यको अभिलेखमा आधिकारिक जग्गाधनीका रूपमा दर्ता भएका छन्।
जिल्ला भूमि समस्या समाधान समिति, डडेलधुराले आयोजित कार्यक्रममा सम्बन्धित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लालपुर्जा प्राप्त भएसँगै उनीहरूले आफ्नो जग्गामाथिको कानुनी अधिकार सुनिश्चित गरेका छन् भने भविष्यमा बैंकिङ सेवा, सरकारी सुविधा तथा सम्पत्तिसम्बन्धी अन्य कानुनी प्रक्रियामा समेत सहज पहुँच हुने अपेक्षा गरिएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्दै विभिन्न जिल्लामा जग्गा व्यवस्थापनको काम अघि बढाइरहेको छ। सोही अभियानअन्तर्गत डडेलधुरामा पनि वास्तविक बसोबासीलाई कानुनी स्वामित्व दिलाउने प्रक्रिया निरन्तर अगाडि बढाइएको हो।
सरकारले देशभर भूमिसम्बन्धी पुराना समस्या क्रमशः समाधान गर्दै योग्य लाभग्राहीलाई लालपुर्जा वितरणलाई तीव्रता दिएको जनाएको छ। यस अभियानले वर्षौंदेखि कानुनी स्वामित्वविहीन अवस्थामा रहेका परिवारलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गर्नुका साथै सामाजिक तथा आर्थिक रूपमा थप सुरक्षित बनाउने विश्वास गरिएको छ।