तराई हिंसापछि मृतक परिवारसँग ७ बुँदे सहमति

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
तराई हिंसापछि मृतक परिवारसँग ७ बुँदे सहमति

फाइनली, आजबाट तराईका केही क्षेत्रहरूमा चलिरहेको धार्मिक हिंसाको अन्त्य भएको छ। हिजो रातभर लगाएर गृहमन्त्री सुदन गुरुङ र सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट ज्यान गुमाएका गणेश यादवको परिवारबीच पनि ७ बुँदे सहमति भएको छ।

मृतकका तीनवटै परिवारसँग लिखित सम्झौता भएसँगै अब तराईका विभिन्न जिल्लाहरूमा चलिरहेको हिंसात्मक आन्दोलन रोकिने भएको हो। सरकारले मृतक तीनै जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ भने प्रत्येक परिवारलाई राहतस्वरूप रु. १० लाख उपलब्ध गराउने सहमति पनि गरेको छ।

यसैगरी, तीनै जना मृतकको नाममा उपयुक्त स्थान हेरेर स्मृति पार्क बनाउनेदेखि मृतकका परिवारका १–१ जनालाई रोजगारी दिने भएको छ।

यसैगरी, गणेशका आमाबुबालाई निःशुल्क स्वास्थ्य उपचार गराउनेसमेत प्रतिबद्धता व्यक्त गरिएको छ। गणेशलगायत सबै मृतकका परिवारसँग सहमति भए पनि गृहमन्त्री गुरुङ केही दिन मधेसमै रहने भएका छन्। सचिवालयका अनुसार तराईका विभिन्न जिल्लाहरूमा फैलिएको हिंसा पूर्ण रूपमा शान्त नभएसम्म गुरुङ त्यहीँ रहने भएका हुन्।

खैर, यो आन्दोलनमा राज्यका तर्फबाट थुप्रै कमीकमजोरीहरू भएका छन्, त्यसको केही दिनपछि चर्चा गरौँला नै।

विज्ञापनविकिबिजि

तर अहिलेका लागि भने, कहाँ, कसले, किन र के गरीभन्दा पनि फैलिएको हिंसा रोक्नु र माहोल शान्त बनाउनु नै राज्य, मिडिया र आमनागरिकको पहिलो कर्तव्य हो। बाँकी, राज्यले आफ्नो काम सुरु गरिसकेको छ।

तराईका विभिन्न जिल्लाहरूमा हिंसा भड्काउने र सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै हालसम्म प्रहरीले ६५ जनालाई पक्राउ गरिसकेको छ। जसमा सिरहा जिल्लाबाट ५ जना पक्राउ परेका छन् भने धनुषा जिल्लाबाट ४५ जना, यसैगरी सर्लाही जिल्लाबाट ९ जना पक्राउ परेका छन् भने महोत्तरीबाट २ जना पक्राउ परेका छन्।

यसैगरी, पर्सा जिल्लाबाट १ जना पक्राउ परेका छन् भने सप्तरी जिल्लाबाट १ जना र सुनसरीबाट १ जना गरी जम्मा ६५ जनालाई हालसम्म प्रहरीले पक्राउ गरिसकेको अवस्था छ।