समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी संस्थामा लामो समयदेखि रोकिएको बचत रकम फिर्ता गर्ने प्रक्रिया क्रमशः अघि बढ्न थालेको छ। सरकारले ती सहकारीबाट असुल भएको ऋण र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा पहिलो चरणमा साना बचतकर्तालाई रकम फिर्ता गर्न थालेको जनाएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३४१ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।

विज्ञापन
khoj2

समितिले बचतकर्तालाई वितरण गरिएको रकम सरकारको बजेटबाट नभई समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत संकलन भएको रकमबाट उपलब्ध गराइएको स्पष्ट पारेको छ।

यता, साउन १ देखि १५ गतेसम्म समितिले विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट बक्यौता रकम असुल गरेको जानकारी दिएको छ। यही असुली प्रक्रियालाई थप प्रभावकारी बनाउँदै बचत फिर्ताको दायरा विस्तार गर्ने तयारी रहेको समितिको भनाइ छ।

समितिका अनुसार हाल सानो परिमाणमा बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको हो। आगामी चरणमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमिक रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाका कारण लाखौं बचतकर्ताको रकम लामो समयदेखि रोकिएको अवस्थामा सरकारले कानुनी व्यवस्था अनुरूप ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई तीव्रता दिँदै बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।