अर्थमन्त्री वाग्ले र २० बैंकका सीईओबीच आज छलफल
सरकारले बजेटमार्फत अघि सारेका आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग प्रत्यक्ष छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे तय गरिएको बैठकमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका सबै २० वाणिज्य बैंकका सीईओ सहभागी हुने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलको मुख्य केन्द्र बजेटमा घोषणा गरिएका सुधारका उपायलाई व्यवहारमा कसरी प्रभावकारी बनाउने भन्ने रहने बताइएको छ। यससँगै बैंकिङ क्षेत्रको वर्तमान अवस्था, वित्तीय बजारमा देखिएका चुनौती, निजी क्षेत्रको लगानी वातावरण तथा अर्थतन्त्रलाई चलायमान बनाउन बैंकहरूको भूमिकाबारे पनि धारणा आदान–प्रदान हुने अपेक्षा गरिएको छ।
सरकारले पछिल्लो बजेटमार्फत आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित विभिन्न नीतिगत सुधारका घोषणा गरेको थियो। ती योजनाको सफल कार्यान्वयनमा बैंकिङ क्षेत्रको सक्रिय सहभागिता आवश्यक मानिँदै आएको छ।
यही सन्दर्भमा अर्थमन्त्रीले प्रमुख वाणिज्य बैंकका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। बैठकबाट वित्तीय क्षेत्रका व्यावहारिक समस्या, बजारको अवस्था र सुधारका सम्भावित उपायबारे सरकारलाई थप स्पष्ट सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ।

