नेपाललाई गाभीबाट ५ करोड ७६ लाख डलरको खोप र अनुदान प्रस्ताव
नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दीर्घकालसम्म कसरी आर्थिक रूपमा टिकाइराख्ने भन्ने चुनौती बढिरहेका बेला नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको सहकार्यको खाकाबारे उच्चस्तरीय छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच भएको बैठकमा आगामी चार वर्षका लागि आवश्यक खोप सहयोग, सह-वित्तीय लगानी र राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनालाई केन्द्रमा राखिएको थियो।
छलफलका क्रममा गाभीले सन् २०२७ देखि २०३० सम्म नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ। यससँगै १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्तावसमेत अघि सारिएको छ।
तर आगामी चरणको सहकार्य बाह्य अनुदानमा मात्रै आधारित हुने छैन। प्रस्तावित संरचनाअनुसार नेपालले पनि १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषय बैठकमा उठेको छ। यसले आगामी वर्षहरूमा खोप कार्यक्रम सञ्चालनका लागि सरकारले आफ्नै स्रोतबाट गर्ने लगानीको हिस्सा थप महत्त्वपूर्ण बन्ने संकेत गरेको छ।
नेपाल र गाभीबीच खोप क्षेत्रमा सहकार्य नयाँ भने होइन। सन् २००१ मा सुरु भएको साझेदारीले २५ वर्ष पूरा गरिसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा गाभीबाट नेपालले ५५ करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको सहयोग प्राप्त गरेको छ।
यो सहयोग खोप खरिदमा मात्रै सीमित छैन। खोप सुरक्षित राख्न आवश्यक कोल्ड चेन पूर्वाधार निर्माण तथा विस्तारदेखि स्वास्थ्य प्रणाली सुदृढीकरणसम्म गाभीको लगानी रहेको मन्त्रालयले जनाएको छ।
हाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउँदै आएका ११ प्रकारका खोपमध्ये पाँचवटामा गाभीको सह-लगानी छ। अर्को एक प्रकारको खोप भने गाभीले निःशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखाअन्तर्गत सञ्चालित राष्ट्रिय खोप कार्यक्रमका नियमित गतिविधिसँगै विभिन्न समयमा सञ्चालन हुने विशेष खोप अभियानमा पनि गाभीको सहयोग रहँदै आएको छ।
बैठकको एउटा प्रमुख सरोकार भने बदलिँदो विश्वव्यापी आर्थिक परिस्थिति रह्यो। विकास सहायता र स्वास्थ्य क्षेत्रमा उपलब्ध अन्तर्राष्ट्रिय वित्तीय स्रोत खुम्चिँदै जाँदा लामो समयदेखि बाह्य सहयोगसमेत जोडिएको राष्ट्रिय खोप कार्यक्रमलाई भविष्यमा कसरी दिगो बनाउने भन्ने विषयमा दुवै पक्षबीच गहन छलफल भएको थियो।
यस सन्दर्भमा आगामी चार वर्षको प्रस्तावित सहकार्यलाई खोपको निरन्तर उपलब्धतासँग मात्र नभई नेपालको आफ्नै वित्तीय जिम्मेवारी विस्तार गर्ने चरणका रूपमा समेत हेरिएको छ।
बैठकमा गाभीका प्रतिनिधिले राष्ट्रिय खोप कार्यक्रमप्रति मन्त्री मेहताले देखाएको नेतृत्व र नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

