३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

आफ्नै भोगचलनमा रहेको जग्गाको नापनक्सा भएको झन्डै चार दशक बितिसक्दा पनि स्वामित्व पुष्टि गर्ने कागज हातमा नपरेका डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारको लामो प्रतीक्षा अन्ततः टुंगिएको छ। विभिन्न समयमा सुकुम्बासी समस्या समाधान आयोगबाट प्रक्रिया अघि बढेर पनि अधुरै रहेको काम पूरा भएपछि उनीहरूले जग्गाधनी दर्ता प्रमाणपुर्जा अर्थात् लालपुर्जा पाएका हुन्।

साविक जोगबुढा गाविस वडा नं. १ अन्तर्गत पर्ने क्षेत्रमा २०४५ सालमै तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले जग्गाको नापनक्सा गरेको थियो। तर नापनक्सापछिका आवश्यक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयको हातमा स्वामित्वको कानुनी प्रमाण पुग्न सकेन।

विज्ञापन
khoj2

त्यसको करिब एक दशकपछि पनि समस्या समाधानको प्रयास भएको देखिन्छ। २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगमार्फत प्रक्रिया अगाडि बढाइए पनि लालपुर्जा वितरणको चरणसम्म काम पुग्न सकेन।

यसरी पटक–पटक प्रक्रिया सुरु हुने तर निष्कर्षमा नपुग्ने अवस्थाका कारण खजुरानी र तुलाभाडी गाउँका स्थानीय वर्षौंदेखि लालपुर्जाको पर्खाइमा थिए। जग्गाको नापनक्सा भइसकेको भए पनि औपचारिक स्वामित्व कायम गर्ने प्रक्रिया अधुरो रहँदा उनीहरूको समस्या पुस्तौं लम्बिने अवस्थामा पुगेको थियो।

अहिले विगतका आयोगले अघि बढाएर अधुरो छाडेका कामलाई वर्तमान समितिको कार्यविधि र प्रचलित नियमअनुसार निरन्तरता दिइएको हो। आवश्यक प्रक्रिया पूरा गर्दै नियमानुसार राजस्वसमेत संकलन गरेपछि नापनक्सा भइसकेका जग्गाको दर्ता प्रक्रिया टुंग्याइएको छ।

त्यससँगै परशुराम नगरपालिका–१२ का १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।

२०४५ सालमा भएको नापनक्सादेखि अहिले लालपुर्जा हात पर्दासम्म करिब ३८ वर्ष बितेको छ। लामो समयसम्म भोगचलनको जग्गामाथि कानुनी स्वामित्व पुष्टि गर्ने प्रमाणबाट वञ्चित रहेका परिवारका लागि लालपुर्जा वितरण केवल प्रशासनिक प्रक्रिया पूरा भएको विषय मात्र होइन, दशकौँदेखि अल्झिएको जग्गा स्वामित्वको अन्योल अन्त्य भएको क्षणसमेत बनेको छ।