कर तिर्नेलाई राज्यले सम्मान गर्नैपर्छ : रवि लामिछाने
उद्यम र व्यवसायबाट रोजगारी सिर्जना गर्ने मात्र होइन, करमार्फत राज्यको आम्दानीमा योगदान पुर्याउने निजी क्षेत्रप्रति सरकारको व्यवहार सम्मानजनक हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्। धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान र प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
नेपाली युवा उद्यमी मञ्च (NYEF) को २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा हेरिनुपर्ने धारणा राखे। करमार्फत राज्यलाई योगदान गरिरहेका व्यवसायीलाई उत्साहित बनाउने वातावरण आवश्यक रहेको उनले बताए।
कार्यक्रममा लामिछानेले सरकारको कामको गति र त्यसप्रति उठिरहेका प्रश्नबारे पनि बोले। सरकार बनेको चार महिनामै अपेक्षित काम हुन नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै उनले काम भने अघि बढिरहेको दाबी गरे।
तत्काल सबै परिणाम देखिन नसके पनि आगामी दिनमा सरकारका कामको प्रभाव देखिँदै जाने उनको भनाइ थियो। अझ राम्रो नतिजा दिने गरी सरकार अघि बढिरहेको र आफूले गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा काम भइरहेको उनले बताए।
सरकारको समर्थनमा रहे पनि गलत कामप्रति आफ्नो दल मौन नबस्ने सन्देशसमेत लामिछानेले दिए। सरकार निर्धारित बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति रास्वपासँग रहेको उल्लेख गर्दै उनले आवश्यक परे सरकारको ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको बताए।
उनले सरकारको प्राथमिकतामा युवा रहेको दाबी गर्दै स्वदेशमै भविष्य खोज्न युवालाई आग्रह गरे। विदेश जानैपर्ने बाध्यताको सट्टा नेपालमै उद्यम, व्यवसाय र रोजगारीका अवसर विस्तार गर्ने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
देशभित्र सम्भावना खोजेर नयाँ काम सुरु गर्न चाहने युवालाई राज्यले साथ दिनुपर्नेमा पनि लामिछानेले जोड दिए। युवाले ढुक्क भएर उद्यमशीलतातर्फ अघि बढ्न सक्ने अवस्था बने त्यसले रोजगारी सिर्जनासँगै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
युवा उद्यमीहरूको उपस्थितिमा लामिछानेले दिएको सन्देशको केन्द्रमा निजी क्षेत्रप्रतिको सम्मान र स्वदेशमै अवसर सिर्जना गर्ने विषय देखियो। राज्यलाई कर तिर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई देशभित्रै उद्यम गर्न सक्ने वातावरण दिने काम सँगसँगै अघि बढ्नुपर्ने उनको धारणा थियो।

