हेटौंडा कपडा उद्योगबारे कुलमान घिसिङले दिए सरकारलाई यस्तो सुझाव

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
हेटौंडा कपडा उद्योगबारे कुलमान घिसिङले दिए सरकारलाई यस्तो सुझाव

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने पहलप्रति कुलमान घिसिङले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिँदै यसको दीर्घकालीन भविष्य सुनिश्चित गर्न उत्पादनदेखि व्यवस्थापनसम्म ध्यान दिनुपर्ने बताएका छन्।

घिसिङले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै कपडा उद्योग सञ्चालनमा ल्याउनु मात्रै पर्याप्त नहुने संकेत गरेका छन्। उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने दिशामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

विज्ञापन
khoj2

उद्योगका लागि आवश्यक कच्चा पदार्थको उत्पादन देशभित्रै बढाउन सकिए त्यसले उद्योगको आपूर्ति प्रणालीलाई मात्र सहज बनाउने नभई कृषि, रोजगारी र स्थानीय उत्पादनसँग समेत नयाँ सम्भावना जोड्न सक्ने देखिन्छ।

घिसिङले उद्योगलाई दीर्घकालीन रूपमा प्रभावकारी र निरन्तर सञ्चालन गर्न निजी क्षेत्रको सहभागितालाई पनि महत्त्व दिएका छन्। निजी क्षेत्रलाई साझेदारीमा ल्याएर उद्योग सञ्चालनको प्रभावकारिता र दिगोपनमा ध्यान दिनुपर्ने सुझाव उनले सरकारलाई दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, “हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद । कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिईयोस् । साथै उधोगलाई दीर्घकालिन रूपले निरन्तर ईफिसियन्टली चलाउन नीजि क्षेत्रलाई साझेदारीमा ल्याउन जरूरी छ । यसतर्फ पनि सरकारले ध्यान दिईयोस् ।”

हेटौंडा कपडा उद्योगको पुनःसञ्चालनसँगै अब यसको उत्पादन क्षमता, कच्चा पदार्थको नियमित उपलब्धता, बजार र व्यवस्थापनको मोडल महत्वपूर्ण विषय बन्नेछन्। घिसिङको अभिव्यक्तिले पनि उद्योग पुनःखोल्ने कदमसँगै त्यसलाई आर्थिक रूपमा टिकाउ र प्रभावकारी बनाउने दीर्घकालीन योजना आवश्यक रहेको विषयलाई जोड दिएको छ।