नेपाल भ्रमणमा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी सम्मान
नेपाल र भारतका सेनाबीच दशकौँदेखि कायम सैन्य परम्पराले सोमबार फेरि निरन्तरता पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने परम्परा सन् १९५० देखि चलिआएको छ। दुवै मुलुकका सेनाबीचको परम्परागत सम्बन्धको प्रतीकका रूपमा हेरिने यही अभ्यासलाई सेठको भ्रमणका क्रममा पनि निरन्तरता दिइएको हो।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्। उनको नेपाल भ्रमणलाई दुई देशका सेनाबीच कायम संस्थागत सम्बन्ध र सैन्य सहकार्यको निरन्तरताका रूपमा समेत हेरिएको छ।

