सिरहामा ४ किलो शङ्कास्पद मासुसहित दुई युवक पक्राउ
औरही गाउँपालिका–५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब चार किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। बरामद मासु कुन जनावरको हो भन्ने भने परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।
शुक्रबार साँझ करिब ५:५० बजे मनोजकुमार चौधरीको कमान्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले गागन खोला क्षेत्रमा सवारी चेकजाँच गरिरहेको बेला उनीहरूलाई रोकेको थियो। मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त मासु फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकाहरू औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर खान र सोही ठाउँका २९ वर्षीय मो. अफरोज खान रहेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रारम्भिक रूपमा बरामद मासु गाईको मासुजस्तो देखिएको र भारतबाट ल्याइएको हुन सक्ने आशंका गरिएको छ। तर परीक्षणबिनै मासुको स्रोत र जनावरबारे निष्कर्षमा पुग्न नसकिने भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश पालका अनुसार घटनासँग सम्बन्धित तथ्य, मासुको स्रोत र प्रकृतिबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।

