आँखा झिम्काउँदा महावीरले कमाए १३६ डलर, आधा पत्रकारलाई दिने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
आँखा झिम्काउँदा महावीरले कमाए १३६ डलर, आधा पत्रकारलाई दिने

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय सभाको हलमा आफूले आँखा झिम्काएको दृश्य समेटिएको भिडियोको स्क्रिनसट फेसबुकमा पोस्ट गर्दा अस्वाभाविक रूपमा ठूलो पहुँच र आम्दानी भएको बताएका छन्।

पुनका अनुसार उक्त पोस्टले १० घण्टामै २४ लाख भ्यु पाएको छ भने त्यसबाट १३६ अमेरिकी डलर आम्दानी भएको छ। एउटै फेसबुक पोस्टबाट यति धेरै आम्दानी भएको आफ्नो पहिलो अनुभव भएको उल्लेख गर्दै उनले उक्त दृश्य खिच्ने पत्रकारलाई भेट्नसमेत बोलाएका छन्।

विज्ञापन
khoj2

सामाजिक सञ्जालमा आफ्नै शैलीमा प्रतिक्रिया जनाउँदै पुनले भिडियो खिच्ने पत्रकारसँग त्यसबाट आएको कमाइ आधा–आधा बाँड्ने बताएका छन्। पत्रकारलाई नडराई आफूसँग सम्पर्क गर्न आग्रह गर्दै उनले आफ्नो भागको रकम दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

पुनको पोस्टमा आर्थिक आम्दानीको प्रसंग मात्र छैन। उनले राष्ट्रिय सभाभित्रको एउटा सामान्य क्षण सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको विषयलाई पनि हल्का र व्यंग्यात्मक शैलीमा लिएका छन्।

उनले त्यसैक्रममा अघिल्लो रात आफू साँच्चिकै ओछ्यानमा सुतेको अर्को भिडियो पनि धेरैभन्दा धेरै हेर्न र प्रतिक्रिया दिन फेसबुक प्रयोगकर्तालाई आग्रह गरेका छन्। धेरैले भिडियो हेरे र कमेन्ट गरे त्यसबाट ‘भात खाने पैसा’ आउने भन्दै उनले सामाजिक सञ्जालबाट हुने आम्दानीलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिको सामान्य गतिविधिसमेत सामाजिक सञ्जालमा कति छिटो ठूलो दर्शकमाझ पुग्न सक्छ भन्ने उदाहरणका रूपमा पुनको यो पोस्ट चर्चामा आएको छ। राष्ट्रिय सभाको हलमा कैद भएको छोटो दृश्यबाट सुरु भएको प्रसंगलाई उनले डिजिटल प्लेटफर्मको पहुँच र त्यसबाट हुने आम्दानीसँग जोडेर सार्वजनिक गरेका हुन्।