गरिमाका आमाबुवा काठमाडौं, गृहमन्त्रीसँग वार्ता हुने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गरिमाका आमाबुवा काठमाडौं, गृहमन्त्रीसँग वार्ता हुने

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको न्यायको माग चर्किरहेका बेला उनका आमाबुवालाई सरकारसँग वार्ताका लागि काठमाडौं लगिएको छ। स्थानीयस्तरमा जारी आन्दोलनकै बीच शनिबार अपराह्न गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी काठमाडौं प्रस्थान गरेका हुन्।

उनीहरू गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्ने तयारीमा रहेको जानकारी दिइएको छ। चौधरी दम्पतीसँगै स्थानीय अभियन्तासहित सात सदस्यीय टोली पनि काठमाडौं गएको छ।

विज्ञापन
khoj2

आन्दोलनस्थलबाट मनोज र मानमतीलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीको गाडीमा सिमरा विमानस्थल पुर्‍याएका थिए। विमानस्थलमा उनीहरूको बोर्डिङ पासलगायत यात्रासम्बन्धी व्यवस्था पनि प्रहरीले नै मिलाएको थियो।

काठमाडौं जाने टोलीमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत सहभागी छन्। टोलीले गरिमाको हत्यापछि उठेका न्याय र अनुसन्धानसँग सम्बन्धित विषयमा गृहमन्त्रीसँग छलफल गर्ने बताइएको छ।

काठमाडौं जानुअघि मनोज चौधरीले स्थानीय बासिन्दालाई छोरीका लागि न्यायको माग गर्दै भइरहेको आन्दोलन नरोक्न आग्रह गरे। परिवार वार्ताका लागि राजधानी गए पनि सिमरामा दबाबमूलक आन्दोलन जारी राख्नुपर्ने उनको भनाइ थियो।

यसैबीच, परिवारलाई काठमाडौं लैजाने तयारीबारे आन्दोलनरत पक्षलाई पर्याप्त जानकारी नदिइएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं जाने योजना गोप्य रूपमा बनाएको आरोप लगाउँदै स्थानीयले सिमरा विमानस्थल अगाडि समेत प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।

गरिमाको मृत्युको घटनाले सिमरा क्षेत्रमा आक्रोश बढाएको छ। परिवार र स्थानीयले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै आएका छन्। अब काठमाडौंमा हुने वार्ताबाट सरकारले घटनाप्रति कस्तो कदम र प्रतिबद्धता अघि सार्छ भन्नेमा आन्दोलनरत स्थानीयको चासो केन्द्रित भएको छ।