भारी वर्षाले राजमार्ग प्रभावित, कतै बन्द त कतै यात्रा रोक
लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्दा देशका विभिन्न भागमा मुख्य सडक सञ्जाल प्रभावित भएको छ। कतिपय राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्रै सवारी चलिरहेको छ। बागमती प्रदेशका केही सडकमा रातिको यात्रा नै रोकिएको छ।
सोमबार बिहान ६:२० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा बाढी र पहिरोका कारण आवागमन प्रभावित भएको हो। मौसम पूर्वानुमान महाशाखाले सोमबार र मंगलबार पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना औंल्याएकाले सडकको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने देखिएको छ।
कोशी प्रदेशमा भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवाली क्षेत्रमा पर्ने झापा–ताप्लेजुङ सडकखण्ड अन्तर्गत मेची राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। ती क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा वर्षासँगै जोखिम बढेपछि केही सडकमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेस्थित बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको छ।
कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालन निषेध गरिएको छ। नुवाकोटको शिवपुरी हुँदै जाने टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ।
सिन्धुपाल्चोकको कोदारी र लिपिङ क्षेत्रमा पर्ने अरनिको राजमार्ग बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको खाल्टे क्षेत्रमा त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी तथा स्याउ पार्कसहितको पासाङ ल्हामु सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन।
गण्डकी प्रदेशका केही प्रमुख सडक भने पहिरोका बाबजुद एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोला क्षेत्रको बेनी–जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्डमा सवारी एकतर्फी चलिरहेका छन्।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
मंगलबारसम्म भारी वर्षाको जोखिम
सडक अवरोधको समस्या जारी रहेकै बेला मौसम पूर्वानुमान महाशाखाले थप वर्षाको सम्भावना देखाएको छ। आइतबार रातिदेखि मंगलबारसम्म विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
सोमबार दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि वर्षा हुने र कोशी, बागमती, गण्डकीसँगै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहनेछ।
मंगलबार देशभर साधारणतया बादल लाग्ने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार रातिसमेत यी तीन प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
लगातारको वर्षाले पहिरो खस्ने, खोलानालामा पानीको बहाव बढ्ने र सडकको अवस्था अचानक परिवर्तन हुन सक्ने भएकाले प्रभावित क्षेत्रमा यात्रा गर्ने यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्नु उपयुक्त देखिएको छ।

