चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ
चितवनको राप्ती नगरपालिकामा कारभित्र लुकाएर लैजाँदै गरिएको १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान राप्ती–१० को चिप्लेटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राप्ती नगरपालिकाको भित्री सडक हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको बा नं. ५८२८ च ०२३-०१-०३ प्र. नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि निगरानीमा खटिएको टोलीले बिहान करिब ३:४० बजे चिप्लेटी क्षेत्रमा कार रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा प्रहरीले कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरूको शरीर तथा कारको खानतलासी गर्दा पछाडिको डिक्कीमा लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा १२ वटा चारपाटे पोकामा प्याक गरिएको थियो। ती पोका रातो प्लास्टिकले बेरेर बाहिरबाट सेतो टेप लगाइएको अवस्थामा भेटिएको र तौल गर्दा कुल १६८ किलो रहेको प्रहरीको भनाइ छ।
प्रहरीले बरामद गाँजा र प्रयोग भएको कारलाई समेत दसीका रूपमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका थारू र तामाङलाई दसीसहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट चार दिनको म्याद लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

