रसुवा बाढीमा उद्धार तीव्र, सेनाको हेलिकप्टर मेडिकल टोलीसहित त्रिशूलीतर्फ
रसुवाको भोटेकोशीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिँदै गएपछि सरकारले उद्धार, उपचार र राहतको तयारी तीव्र बनाएको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण र घाइतेको तत्काल उपचारका लागि नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौंबाट त्रिशूलीतर्फ पठाइएको छ।
सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टोली बोकेको सेनाको एआई–१७ हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो। बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल परिचालन गर्न सेनाका अन्य हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको छ।
यसअघि नै नेपाली सेनाका दुई हेलिकप्टर रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए।
प्रधानमन्त्री बालेन शाहले उद्धार तथा राहतमा आवश्यक पर्ने सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको बताएका छन्। निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न जानकारी गराइएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन भएका छन्। उद्धारको कामलाई थप प्रभावकारी बनाउन अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ।
सरकारले उद्धारसँगै उपचारको व्यवस्थालाई पनि प्राथमिकतामा राखेको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरिरहेको छ।
बाढीको जोखिम तल्लो क्षेत्रमा समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशी हुँदै तल्लो क्षेत्रमा प्रवेश गरेको हो। बाढी नुवाकोट पार गर्दै धादिङसम्म पुगेको जानकारी आएको छ। नदीको बहावसँगै जोखिम क्षेत्र विस्तार भइरहेकाले उद्धार टोली र स्वास्थ्य संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।
सरकारले तत्काल उद्धार आवश्यक पर्ने स्थानमा उपलब्ध हवाई तथा स्थलस्रोत परिचालन गर्ने तयारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा, उद्धार र आवश्यक स्वास्थ्य उपचार अहिले प्राथमिकतामा राखिएको छ।

