रसुवाको बाढीपहिरोपछि पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारी रोकियो

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
रसुवाको बाढीपहिरोपछि पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारी रोकियो

रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार बिहान अचानक आएको बाढीपहिरोपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग भएर सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई काठमाडौंमै रोकेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै चितवन तथा पश्चिमतर्फ जाने सार्वजनिक सवारीलाई तत्कालका लागि अगाडि बढ्न दिइएको छैन।

विज्ञापन
khoj2

पोखरासहित पश्चिमतर्फका गन्तव्यका साथै गोरखा, लमजुङ र धादिङ जाने सवारी पनि काठमाडौंमै रोकिएका छन्। त्यस्तै, पासाङल्हामु राजमार्ग प्रयोग गरी नुवाकोट र रसुवातर्फ जाने सार्वजनिक सवारीको सञ्चालनसमेत रोकिएको छ।

बिहानको बाढीपहिरोपछि सडक यात्राको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले यस्तो निर्णय लिएको हो। यससँगै काठमाडौं उपत्यकाबाट ती जिल्लातर्फ जाने यात्रु तथा सार्वजनिक यातायात सेवा प्रत्यक्ष प्रभावित भएका छन्।

सडकको अवस्था सुरक्षित नहुँदासम्म जोखिमयुक्त मार्गमा सार्वजनिक सवारी अघि नबढाउने गरी ट्राफिक व्यवस्थापन गरिएको जनाइएको छ।