रसुवा बाढी पीडितका लागि औषधि र टेन्ट पठाउँदै डब्ल्युएचओ
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र राहत व्यवस्थापन तीव्र बनाइएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक उपचार सामग्री उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले औषधि, स्वास्थ्य उपकरण र आपतकालीन टेन्ट पठाउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग भएको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनाका लागि पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण उपलब्ध गराउन लागेको हो। प्रभावित क्षेत्रमा अस्थायी स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग पुग्ने गरी २४ स्क्वायर मिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्टसमेत पठाइने भएको छ।
बाढीपछि उद्धार र उपचारको आवश्यकता बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौंका अस्पतालमा पनि पूर्वतयारी गरिएको मन्त्रालयले जनाएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा गरी एक सय आपतकालीन शय्या छुट्याइएको छ।
हालसम्म बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको मन्त्रालयको भनाइ छ।
आपतकालीन अवस्थामा आवश्यक स्वास्थ्य सेवा, रगत तथा अन्य सहयोग सहज रूपमा जुटाउन विभिन्न निकायबीच समन्वयसमेत अघि बढाइएको छ। मन्त्रालयका अनुसार काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रसँगै बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयलाई तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवा तथा राहत व्यवस्थापनका लागि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उपचारको पहुँच सुनिश्चित गर्नु र सम्भावित थप स्वास्थ्य जोखिम व्यवस्थापन गर्नु अहिलेको प्राथमिकता बनेको छ। त्यसका लागि सरकारी स्वास्थ्य संयन्त्रसँगै अन्तर्राष्ट्रिय तथा स्वयंसेवी संस्थालाई परिचालन गर्ने गरी तयारी अघि बढाइएको छ।

