धनकुटामा छोराको चिरपट प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–७, ठुलो ढुङ्गामा छोराको प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु भएको छ। घटनापछि फरार भएका ३२ वर्षीय युवराज लिम्बुलाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे युवराजले आफ्नै बाबु अमरध्वज लिम्बुको टाउकोमा काठको चिरपटले प्रहार गरेका थिए। गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी बिहान ६ः१५ बजेतिर अस्थायी प्रहरी बिट मौनाबुधुकमा पुगेको थियो। त्यसलगत्तै प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। इलाका प्रहरी कार्यालय राजारानीबाट पनि प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा अर्को टोली परिचालन गरिएको थियो।
घटनापछि युवराज भने घरबाट निस्किएर फरार भएका थिए। प्रहरीले आसपासका क्षेत्रमा खोजी तीव्र बनाएको थियो। खोजतलासका क्रममा बिहान करिब ८ः१५ बजे घरबाट झन्डै ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिरहेको अवस्थामा उनलाई फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनास्थलको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा समेत प्रहरी टोली परिचालन गरिएको थियो।
बाबुमाथि प्रहार गर्नुको कारणबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन। पक्राउ परेका युवराजमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

