भोटेकोशी बाढीले बगाएको सेफ फुटाएर ९२ लाख चोरी, २९ जना पक्राउ
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको भनिएको पैसा राख्ने सेफ त्रिशूली नदी किनारमा फेला परेपछि त्यसलाई फुटाएर नगद निकालेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।
धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोला क्षेत्रमा त्रिशूली नदीको किनारमा भेटिएको सेफ स्थानीयले तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको उक्त सेफ बेल्खुखोलास्थित त्रिशूली किनारमा फेला परेको थियो। सेफभित्र कति रकम थियो भन्ने यकिन भइसकेको छैन।
घटनाबारे भदौ १२ गते सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा २९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको खानतलासी गर्दा विभिन्न व्यक्तिको साथबाट गरी कुल ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरू अधिकांश धादिङको गल्छी र गजुरी क्षेत्रका छन्। नियन्त्रणमा पर्नेहरूमा:
- गल्छी गाउँपालिका–४ मासटारका २७ वर्षीय पवन पौडेल
- सोही स्थानका ४१ वर्षीय वीरबहादुर राना मगर
- ३५ वर्षीय विनोद गिरी
- ३३ वर्षीय नवराज भेटुवाल
- ४० वर्षीय पूर्णलाल श्रेष्ठ
- ३१ वर्षीय विष्णुमणि अधिकारी
- ३६ वर्षीय कृष्ण मगर
- ४९ वर्षीय शिवबहादुर राना मगर
- ४६ वर्षीय युवराज अधिकारी
- गल्छी गाउँपालिका–६ आदमघाटका ४७ वर्षीय शुसान्त श्रेष्ठ
- गल्छी गाउँपालिका–४ मासटारका ४६ वर्षीय सुचिमबहादुर राना मगर
- सोही स्थानका २४ वर्षीय सविन श्रेष्ठ
- ४३ वर्षीय प्रेमबहादुर राना मगर
- १९ वर्षीय अनिल भेटुवाल
- ४९ वर्षीय रामशरण सुवेदी
- ३८ वर्षीय मिनबहादुर राना मगर
- ३२ वर्षीय देवेन्द्र राना मगर
- ३१ वर्षीय दीपक तामाङ
- ३६ वर्षीय राजकुमार भेटुवाल
- २९ वर्षीय दिनेश अधिकारी
- ३० वर्षीय दिनेश पुलामी
- ३० वर्षीय टेकबहादुर राना मगर
- ३२ वर्षीय सन्तोष श्रेष्ठ
- गल्छी गाउँपालिका–८ सिमपानीका ३६ वर्षीय सानुभाइ श्रेष्ठ
- सिद्धलेक गाउँपालिका–७ आदमटारका ४९ वर्षीय सानु खतिवडा
- चितवनको राप्ती नगरपालिका–६ घर भई हाल धादिङको गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर
- सोही क्षेत्रमा बस्ने ३२ वर्षीय नारायण श्रेष्ठ
- सोही क्षेत्रमा बस्ने २० वर्षीय अग्नि आले मगर
- पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी
प्रहरीले बरामद भएको नगदको वास्तविक स्रोत र सेफभित्र सुरुमा कति रकम थियो भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखेको छ। घटनामा नियन्त्रणमा लिइएका बाहेक अरू व्यक्तिको पनि संलग्नता हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर खोजी तथा अनुसन्धान भइरहेको जनाइएको छ।
हाल बरामद ९२ लाख ६८ हजार ५०५ रुपैयाँ र नियन्त्रणमा रहेका २९ जनालाई लिएर थप अनुसन्धान अघि बढाइएको छ।

