भोटेकोशी बाढीपीडितलाई कर्णालीका कांग्रेस सांसदको २.२५ लाख सहयोग
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले सामूहिक रूपमा २ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
सांसदहरूबाट संकलित उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढीका कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सांसदहरूले व्यक्तिगत रूपमा रकम जुटाएर कोषमा जम्मा गरेका हुन्।
प्राकृतिक विपद्का बेला प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सरकारी संयन्त्रसँगै विभिन्न संस्था, राजनीतिक दल तथा जनप्रतिनिधिबाट समेत सहयोग जुट्ने गरेको छ। कर्णाली प्रदेशका कांग्रेस सांसदहरूले पनि भोटेकोशीका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै सामूहिक सहयोग गरेका हुन्।

