बाराबाट अपहरण भएका ११ वर्षीय बालक भारतमा मृत फेला, किशोर पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बाराबाट अपहरण भएका ११ वर्षीय बालक भारतमा मृत फेला, किशोर पक्राउ

घरनजिकैबाट बेपत्ता भएका बाराका ११ वर्षीय बालक दुई दिनपछि सीमापारि भारतमा मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धान गर्दै जाँदा बालकलाई बाराबाट अपहरण गरी भारत पुर्‍याएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। कानुनी व्यवस्थाअनुसार प्रहरीले उनको परिचय गोप्य राख्दै ‘परिवर्तित नाम जिल्ला ३३ (A) ०८३/८४’ उल्लेख गरेको छ।

विज्ञापन
khoj2

प्रहरीका अनुसार विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह २०८३ भदौ ९ गते बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका थिए। बालक हराएको जानकारी सोही दिन साँझ करिब ७:५० बजे प्रहरी चौकी मुसहर्वामा पुगेपछि प्रहरीले खोजी सुरु गरेको थियो।

खोजतलासकै क्रममा भदौ ११ गते बिहान करिब १०:३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला, नुनियाडी पञ्चायत वडा नम्बर १ स्थित सिंहा नदी किनारमा राजेश मृत अवस्थामा फेला परेका थिए।

सीमापारि बालकको शव भेटिएपछि घटनाको अनुसन्धानमा नेपाली र भारतीय प्रहरीबीच समन्वय गरिएको थियो। प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ गरेको जनाएको छ।

प्रहरीका अनुसार उपलब्ध सीसीटीभी दृश्य, स्थानीय व्यक्तिहरूबाट प्राप्त जानकारी तथा भारतीय प्रहरीसँगको समन्वयबाट १७ वर्षीय किशोरले राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारतको उक्त स्थानसम्म पुर्‍याएको र त्यहाँ उनको हत्या गरेको देखिएको छ।

अनुसन्धानबाट घटनामा उनको संलग्नता देखिएपछि प्रहरीले अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

पक्राउ परेका किशोरमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत बाराबाट पाँच दिनको म्यादसमेत लिइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत कारण तथा यसमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान जारी छ।