बाढीपछि हैजाको जोखिम, नुवाकोटमा ८० हजार डोज खोप पठाइयो
बाढीले खानेपानी र सरसफाइका संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा हैजासहित पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले रोकथामको तयारी तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नुवाकोट र रसुवालाई प्राथमिकतामा राखेर हैजाविरुद्धको खोप तथा त्यसको सुरक्षित भण्डारण र ढुवानीका लागि आवश्यक सामग्री पठाएको हो।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि हैजाविरुद्धको ८० हजार ५ सय २३ डोज खोप पठाएको छ। २३ बक्समा पठाइएको खोपसँगै तापक्रम व्यवस्थापनका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराइएको छ।
नुवाकोटमा १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाइएको मन्त्रालयले जनाएको छ। यी सामग्री खोपलाई आवश्यक तापक्रममा सुरक्षित राख्दै प्रभावित क्षेत्रसम्म पुर्याउन प्रयोग हुनेछन्।
बाढी प्रभावित अर्को जिल्ला रसुवामा भने खोप यसअघि नै हेलिकप्टरमार्फत पठाइसकिएको छ। त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गर्ने तयारी छ।
बाढीपछि खानेपानीका स्रोत दूषित हुने तथा शौचालय र सरसफाइ प्रणाली प्रभावित हुने सम्भावना बढ्छ। यस्तो अवस्थामा सुरक्षित पानी र सरसफाइको पहुँच कमजोर हुँदा हैजा तथा अन्य पानीजन्य संक्रमणको जोखिम पनि बढ्न सक्छ।
यही जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा संक्रमण फैलिन नदिन खोप अभियानलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ। खोपसँगै आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्दै रोकथामका कामलाई प्रभावकारी बनाउने तयारी गरिएको छ।

