नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल पार्ट्ससहित पिकअप नियन्त्रणमा
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको मोबाइल एसेसरिजसहित एउटा पिकअप गाडी नवलपरासीको सरावल क्षेत्रबाट नियन्त्रणमा लिइएको छ। बरामद सामान र गाडीको अनुमानित मूल्य एक करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
भदौ २६ गते बिहान करिब ४ः३५ बजे सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा सुरक्षाकर्मीको संयुक्त टोलीले लु ३ च २९३९ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा ती सामान फेला पारेको हो।
इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षकसहित खटिएको टोली र बीओपी भुजहवाबाट परिचालित सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ ल्याएर गाडीमा राखिएको अवस्थामा मोबाइलसम्बन्धी सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद सामानमध्ये सबैभन्दा ठूलो परिमाण टेम्पर्ड ग्लासको छ। प्रहरीले दिएको विवरणअनुसार ३९ हजार ८ सय थान कालो टेम्पर्ड ग्लास बरामद भएको छ, जसको अनुमानित मूल्य ५९ लाख ७० हजार रुपैयाँ राखिएको छ। त्यस्तै ४ हजार ५ सय थान सेतो टेम्पर्ड ग्लासको मूल्य ११ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ।
गाडीबाट एक हजार ७५५ थान सेतो एयरपड्स र ५३९ थान कालो एयरपड्ससमेत बरामद भएका छन्। सेतो एयरपड्सको अनुमानित मूल्य १७ लाख ५५ हजार र कालो एयरपड्सको ५ लाख ३९ हजार रुपैयाँ रहेको प्रहरी विवरणमा उल्लेख छ।
यसैगरी ९३० थान मोबाइल कभरको अनुमानित मूल्य ९३ हजार रुपैयाँ र एक बोरा प्लास्टिकको मूल्य २ हजार रुपैयाँ कायम गरिएको छ। सामान ओसारपसारमा प्रयोग भएको पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ अनुमान गरिएको छ।
प्रहरीका अनुसार बरामद सामान तथा गाडीको कुल अनुमानित मूल्य एक करोड १४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
नियन्त्रणमा लिइएको पिकअप र सामान आवश्यक भन्सार प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारीसहित इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको प्रहरीले जनाएको छ।

