प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब मौज्दात
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार र क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेका बेला सरकारको विपद् राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात छ। बाढीपछिको उद्धार, राहत र प्रभावित क्षेत्रको आवश्यकताका लागि यही कोषबाट सरकारले यसअघि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
कोषमा स्वदेशी मुद्रासँगै अमेरिकी डलरमा प्राप्त सहयोगसमेत जम्मा भएको छ। कार्यालयका अनुसार विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालनमा रहेका डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
रसुवामा भोटेकोशीको बाढीले क्षति पुर्याएपछि प्रभावितलाई राहत उपलब्ध गराउन सरकारी कोषमार्फत आर्थिक स्रोत परिचालन भइरहेको छ। राहत कोषमा सहयोग थपिँदै जाँदा संकलित रकमलाई प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता र विपद्पछिको राहत व्यवस्थापनमा कसरी परिचालन गरिन्छ भन्ने विषयसमेत महत्त्वपूर्ण बनेको छ।

