भोटेकोशी बाढीपछि राहत र पुनर्स्थापना तीव्र बनाउन रास्वपाको माग

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भोटेकोशी बाढीपछि राहत र पुनर्स्थापना तीव्र बनाउन रास्वपाको माग

भोटेकोशी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिपछि प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा कुनै कमजोरी हुन नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको ध्यानाकर्षण गराएको छ। बेपत्ताको अवस्था यकिन गर्नेदेखि पीडित परिवारलाई राहत र पुनर्निर्माणको प्रक्रियामा सहज पहुँच दिलाउनेसम्मका कामलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने पार्टीको माग छ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन र राहत वितरणमा ढिलाइ हुन नदिन सरकारलाई आग्रह गरेको हो।

विज्ञापन
khoj2

बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारमा सहभागी मन्त्री तथा पदाधिकारीबाट प्रभावित क्षेत्रमा भइरहेको कामबारे सचिवालयले जानकारी लिएको बताए। उनका अनुसार खोज, उद्धार र राहत वितरणसँगै अब पुनर्स्थापना तथा पुनर्निर्माणको चरण अघि बढाउने तयारी भइरहेको जानकारी बैठकमा गराइएको थियो।

रास्वपाले विपद्बाट प्रभावित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएको छ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षण छिटो सम्पन्न गर्न र पीडित परिवारसम्म आवश्यक सहयोग प्रभावकारी रूपमा पुर्‍याउन पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

लामो समयदेखि बेपत्ताको सूचीमा रहेका व्यक्तिको अवस्थाबारे समेत बैठकले चासो व्यक्त गरेको छ। पाँच हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको उल्लेख गर्दै रास्वपाले उनीहरू जीवित वा मृत रहेको विषय कानुनी तथा प्रशासनिक रूपमा टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेको छ।

यस प्रक्रियामा विद्यमान कानुनी व्यवस्था बाधक बने आवश्यक संशोधन गरेर मृत्यु प्रमाणपत्र उपलब्ध गराउने बाटो खोल्नुपर्ने पार्टीको भनाइ छ। सम्बन्धित परिवारको सहमतिमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढाउन सरकारले सहजीकरण गर्नुपर्ने विषय पनि बैठकमा उठेको छ।

सचिवालय बैठकमा विपद्का विषयसँगै पार्टीको आन्तरिक संगठन र सरकारसँगको समन्वयबारे समेत छलफल भएको छ। मधेस प्रदेश अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले अडिट रिपोर्ट बुझाएको छ। विस्तृत प्रतिवेदन भने अर्को साता पेस हुने प्रवक्ता खरेलले जानकारी दिए।

बैठकले पार्टीको अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयन गर्ने निर्णयसमेत गरेको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबाट भएका उपलब्धिबारे पनि सचिवालयमा समीक्षा गरिएको छ।

बाढीजन्य विपद्का कारण स्थगित गरिएका पार्टीका औपचारिक तथा नियमित गतिविधि अब पुनः सञ्चालन गर्ने निर्णय पनि रास्वपाले गरेको छ।

बैठकमा सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री, निर्वाचित सांसद र पार्टीका नेताको आचरण तथा कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले पार्टी र सरकारबीचको समन्वय तथा सम्बन्ध थप बलियो बनाउँदै अघि बढ्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन्।