त्रिपुरेश्वर बस आगलागी: ट्राफिक विवाददेखि चालकको मृत्युसम्म

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
त्रिपुरेश्वर बस आगलागी: ट्राफिक विवाददेखि चालकको मृत्युसम्म

ड्राइभरको पीडा अरूलाई के थाहा? दिनभरि टिप लागोस् या नलागोस्, मान्छे चढोस् या नचढोस्, बेलुका साहुलाई हिसाब दिनैपर्छ। गाडीमा तेल हाल्नैपर्छ। अनि दुई छाक भात खानैपर्छ।

काठमाडौंको जाम, भनेको बेला गन्तव्यमा नपुगिएला भन्ने डर, भएका यात्रु अर्को बसले टिपेर लैजाला भन्ने तनाव, अनि यस्तै बेला दाहिने, देब्रे, अगाडि, पछाडि जताततैबाट कुइना निकाल्ने ठाउँ भेटे कि फुत्तफुत्त छिरिहाल्ने बाइक र स्कुटीको व्यवहार। यही तनावको बीचमा एउटा बाइक आफ्नो अगाडि आएपछि यात्रु बस चलाइरहेका अन्दाजी २५ वर्षीय अर्जुन दोङले काठमाडौंको त्रिपुरेश्वर चोकमा एकपटक हर्न बजाइदिएछन्।

विज्ञापन
khoj2

तर उनले बजाएको त्यही एउटा हर्नको मूल्य यति महँगो पर्‍यो कि, जसलाई चुकाउन उनले आफ्नो जीवन नै दिनुपर्‍यो।

त्रिपुरेश्वरको त्यही चोक, उस्तै विवाद, उस्तै घटना, उही प्याटर्न। केवल २ महिनाभित्र उही उमेरका दुई जनाले आफ्नो जीवन त्यागे। बस फरक यति थियो कि, २ महिनाअगाडि विवाद महानगर प्रहरीसँग भएको थियो भने अहिले ट्राफिक प्रहरीसँग।

हिजो त्रिपुरेश्वरमा त्यो अप्रिय घटना कसरी घट्न पुग्यो अनि अहिलेसम्म हामीलाई के–के थाहा छ र के–के भयो भन्नेबारे।

सधैँझैँ हिजो बिहान पनि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बस लिएर अर्जुन मूलपानी–थानकोट रुटमा निस्किए।

मध्याह्नको करिब १२:३० तिर त्रिपुरेश्वर चोकमा अगाडिको बाइकलाई साइड माग्न अर्जुनले हर्न बजाए। त्यसपछि त्यहाँ रहेका अन–ड्युटी ट्राफिक प्रहरीले ‘नो हर्न जोनमा किन हर्न बजाएको?’ भन्दै गाडी रोकेर चिट काट्न कागजात मागे। सोही क्रममा अर्जुन र ट्राफिक प्रहरीबीच चर्को विवाद भयो।

उक्त घटनाको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अर्जुनले ट्राफिकसँग पहिले नम्र अनि पछि आक्रोशित हुँदै आफ्नो गल्ती नहुँदा पनि आफूलाई दुःख दिएको भन्ने गुनासो गरेको सुनिन्छ। आफूले पटक–पटक माफी माग्दा पनि ‘जे सक्छस् गर’ भनेर धम्की दिएको भन्दै उनले बरु आफू जे गर्न पनि तयार रहेको तर गलत कुरा नसहने भन्दै झोक्किएको पनि सुनिन्छ।

यही क्रममा अर्जुनले आफ्नो गाडी साहुलाई फोन गरेर आफूलाई ट्राफिकले ह्यारेसमेन्ट गरेको कारण अब आफूले अप्रिय कदम चाल्न लागेको भनेर जानकारी दिन्छन्। त्यसपछि गाडी साहु र रिद्धिसिद्धिका कर्मचारीहरूले सो कुरा प्रहरीलाई जानकारी दिन्छन्। नभन्दै करिब मध्याह्नको १२:४० तिर अर्जुनले बसका यात्रु ओरालेर ढोका भित्रबाट थुन्छन्।

त्यसको केही समयभित्रै बसको पछाडिको भागमा आगो सल्किन्छ। त्यसपछि तुरुन्तै प्रहरीले बसको ढोका फोडेर अर्जुनलाई बाहिर निकाल्छन् र तत्काल कीर्तिपुर बर्न अस्पताल पुर्‍याइन्छ। तर अस्पताल पुग्दासम्म उनको अवस्था एकदमै नाजुक भइसकेको हुन्छ।

त्यसपछि सो आगो निभाउन महानगरको दमकल आउन ढिला भएपछि बस पूर्ण रूपमा क्षति हुन्छ भने सो आगलागीका कारण राहदानी विभागबाहिरका इन्टरनेट र विद्युत्का मुख्य तारमा क्षति हुँदा राहदानी विभागको सेवा समेत बन्द हुन्छ।

त्यसपछि यो घटनाको अनुसन्धान गर्न भनेर काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी ५ दिनको समय दिएको छ।

खास हिजो त्यहाँ भएको मोटामोटी कुरा यति नै हो। त्यसपछि उपचारका क्रममा रहेका अर्जुनको हिजो राति नै निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

खैर, यो घटनामा एउटा अनौठो कुरा भनेको चाहिँ अर्जुनको साथमा प्रहरीले भेटाएको लाइसेन्स हो। सुरुमा उक्त गाडीबाट प्रहरीले भेटाएको लाइसेन्स ललितपुर घर भएका २५ वर्षीय दावा लामाको थियो।

त्यसपछि सबै ठाउँमा उक्त चालकलाई दावा नै हो भनियो। तर करिब ५ बजेतिर वास्तविक लाइसेन्सवाला दावाले आफू त्यो व्यक्ति नभएको भन्दै मिडियामा आएपछि यो अन्योल बढेको हो।

दावाले मिडियालाई दिएको अन्तर्वार्तामा आफू केही समयअगाडि छुट्टै यातायातको बस चलाउने गरेको र सोही समयमा उक्त चालकसँग चिनजान भएको बताएका छन्। चिनजानका क्रममा उसले आफ्नो नाम अर्जुन दोङ बताएको र ठेगाना काभ्रे बताएको दावाले स्पष्ट पारेका छन्।

साथै, उनले त्यही बेला आफ्नो लाइसेन्सको प्रति हराएको र सायद त्यही प्रति अर्जुनले भेटेको हुन सक्ने दाबीसमेत गरेका छन्। उनै दावाको भनाइलाई आधार मानेर खासमा ती चालक अर्जुन नै हुन् वा को हुन् भन्नेबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।