एसियन गेम्स महिला कबड्डी : भारतसँग हार्दै नेपाललाई कास्य
२०औं एसियन गेम्सको महिला कबड्डीमा नेपालको फाइनल पुग्ने लक्ष्य भारतले रोकेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल ४८–२४ को फराकिलो अन्तरले पराजित भएसँगै कास्य पदकमा सीमित भएको हो।
बलियो भारतीय टोलीले सुरुदेखि नै खेलमा दबाब बनायो। पहिलो हाफ सकिँदा भारत ३१–१७ ले अगाडि थियो। दोस्रो हाफमा पनि नेपालले खेल फर्काउन सकेन। उक्त हाफमा भारतले १७ अंक जोड्दा नेपालले सात अंक मात्रै थप्न सक्यो।
सेमिफाइनलको हारसँगै नेपालको फाइनल यात्रा रोकिए पनि महिला कबड्डी टोलीले एसियन गेम्समा लगातार दोस्रोपटक कास्य पदक हात पारेको छ। अघिल्लो १९औं एसियन गेम्समा पनि नेपालको चुनौती सेमिफाइनलमै भारतले समाप्त गरेको थियो।
यसपटक समूह चरणबाट नेपालको यात्रा उतारचढावपूर्ण रह्यो। थाइल्यान्डमाथि जित निकालेको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो। त्यसपछि निर्णायक बनेको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। अन्तिम चारमा प्रवेश गरेसँगै कम्तीमा कास्य पदक सुनिश्चित भइसकेको थियो।
महिला कबड्डीले दिलाएको कास्य जारी एसियन गेम्समा नेपालको दोस्रो पदक हो। यसअघि पुरुष करातेको कुमिते ८४ केजीतर्फ तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।
भारतविरुद्ध नतिजा नेपालको पक्षमा नआए पनि लगातार दुई संस्करणमा एसियन गेम्सको पदक जित्नु नेपाली महिला कबड्डीका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।

