बाढीमा हराएका गंगाराम फर्किएनन्, कुशको शव बनाएर अन्त्येष्टि
रसुवाको विनाशकारी बाढीपछि बेपत्ता भएका महोत्तरीका गंगाराम मण्डल लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ।
मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम गत भदौ १० गतेदेखि बेपत्ता छन्। खोजबिन गर्दा पनि उनको अवस्था पत्ता नलागेको र उनी घर नफर्किएपछि परिवारले मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार गरेको हो।
परिवारका लागि यो निर्णय सहज थिएन। शवसमेत फेला नपरेको अवस्थामा लामो प्रतीक्षापछि हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। उनका १७ वर्षीय छोरा आदित्य राजले दागबत्ती दिएका छन्।
गंगाराम अशेश्वर मण्डलका एक्ला छोरा हुन्। परिवारमा बुबा अशेश्वर, आमा मिथिला देवी, श्रीमती गुञ्जादेवी र चार सन्तान छन्।
उनी रिचा ट्र्याक्स प्रालिमा भान्सेको रूपमा काम गर्दै आएका थिए। कैलाश मानसरोवर यात्रामा जानेहरूसँगै गएका गंगाराम भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका हुन्।
बाढीपछि उनको खोजी भइरहे पनि अवस्था खुल्न सकेन। समय बित्दै जाँदा फर्किने आशा कमजोर बनेपछि अन्ततः परिवारले धार्मिक विधिअनुसार उनको प्रतीकात्मक अन्तिम संस्कार गरेको हो।

