मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, डीला संग्रौलामाथि हातपात

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, डीला संग्रौलामाथि हातपात

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन सुरु नहुँदै विवाद र झडपमा परिणत भएको छ। क्रियाशील सदस्यताको विषयमा लामो समयदेखि कायम असन्तुष्टि बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनस्थलमै चर्किएपछि मनोनयनसहितका निर्धारित कार्यक्रम अघि बढ्न सकेनन्।

अधिवेशनमा बुधबार उम्मेदवारी मनोनयन गर्ने कार्यसूची थियो। तर औपचारिक उद्घाटन हुनुअघि नै नेता तथा कार्यकर्ताबीच विवाद बढ्दै जाँदा हातपात र तोडफोड भएको थियो। त्यसपछि अधिवेशन बिथोलिएको हो।

विज्ञापन
khoj2

घटनामा कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति तथा पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि समेत हातपात भएको बताइएको छ।

विवादको जरो वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने प्रक्रियासँग जोडिएको छ। यही विषयमा असन्तुष्टि रहँदा यसअघि वडा अधिवेशनसमेत निर्धारित समयमा हुन सकेको थिएन। बुधबार क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा पुरानै विवाद फेरि सतहमा आएको हो।

प्रत्यक्षदर्शीका अनुसार अधिवेशनस्थलमा सदस्यताको विषयलाई लिएर सुरु भएको भनाभन क्रमशः उग्र बनेको थियो। त्यसपछि नेता–कार्यकर्ताबीच हातपात हुनुका साथै कार्यक्रमस्थलमा तोडफोडसमेत भएको बताइएको छ।

मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। पार्टीभित्रको आन्तरिक समीकरणसमेत जोडिएको यस घटनामा संस्थापन पक्षले अधिवेशन बिथोल्ने गतिविधिमा कोइरालानिकट कार्यकर्ता संलग्न रहेको दाबी गरेको छ। यद्यपि उक्त आरोपलाई कोइरालानिकट नेताले अस्वीकार गरेका छन्।

यसअघि क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका देवराज तामाङ कोइरालानिकट नेता हुन्। उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन गराउने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो। बुधबार भने तामाङ पनि अधिवेशनस्थलमा खटिएका थिए।

तामाङका अनुसार अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट समूहबाट तोडफोड भएको हो। घटनामा आफ्ना पक्षका कार्यकर्ता संलग्न रहेको भन्ने संस्थापन पक्षको आरोप उनले अस्वीकार गरे।

क्रियाशील सदस्यतामा असन्तुष्ट रहेका वडाका प्रतिनिधिबाट विवाद भएको उनको भनाइ छ। आफूनिकट समूहले आक्रमण गरेको आरोपबारे उनले आरोप लगाउने पक्षले त्यसलाई प्रमाणित गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।

घटनापछि अधिवेशनको प्रक्रिया अन्योलमा परेको छ। कांग्रेस नेता रमेशजंग रायमाझीका अनुसार उत्पन्न परिस्थितिलाई साम्य पार्ने र विवाद समाधान गर्ने प्रयास भइरहेको छ।

पार्टीको संगठनात्मक प्रक्रियासँग जोडिएको क्रियाशील सदस्यता विवाद वडा अधिवेशनदेखि क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा झडपमै परिणत भएपछि मोरङ–६ मा कांग्रेसको आन्तरिक विवाद थप सतहमा आएको छ।