टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, तीन जना पक्राउ
बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षामा रहेका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटना काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी छन्।
असोज १४ गते राति करिब १ बजे उनीहरू अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। त्यही क्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसँग विवाद भएको र गालीगलौज, धाकधम्की तथा हातपातसमेत गरिएको आरोप उनीहरूमाथि छ।
घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त कालीमाटीबाट टोली अस्पताल पुगेको थियो। घटनास्थलमा गरिएको प्रारम्भिक जाँचबुझका क्रममा तीनै जनाको संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।
पक्राउ परेका तीनै जनामाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।
अस्पतालको आकस्मिक कक्ष चौबीसै घण्टा उपचार आवश्यक पर्ने बिरामीको सेवामा सक्रिय रहने संवेदनशील क्षेत्र हो। त्यही स्थानमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको आरोपबारे प्रहरीले घटनाको थप विवरण र परिस्थितिसमेत अनुसन्धान गरिरहेको छ।

