भरतपुरका ६ चोकमा ट्राफिक लाइट, दसैँअघि सञ्चालनको तयारी
भरतपुरका व्यस्त चोकमा सवारीको चापसँगै बढ्दै गएको ट्राफिक व्यवस्थापनको चुनौतीलाई प्रविधिसँग जोड्ने काम अन्तिम चरणतर्फ पुगेको छ। महानगरका ६ प्रमुख चोकमा जडान भइरहेको आधुनिक ट्राफिक लाइट प्रणालीको आधाभन्दा बढी काम पूरा भएको छ भने दसैँअघि सबै स्थानमा बत्ती सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक डिभिजन कार्यालयको बजेट तथा प्राविधिक सहयोगमा पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, पारस बसपार्क र मालपोत चोकमा नयाँ ट्राफिक लाइट जडान भइरहेको हो। सवारीसाधनसँगै पैदलयात्रीको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने गरी प्रणाली तयार पारिएको आयोजनाले जनाएको छ।
सुरुमा असोज २० गतेभित्र केही चोकमा बत्ती बालेर सञ्चालन थाल्ने योजना थियो। तर लगातारको वर्षाले हाइटेन्सन लाइनसँग सम्बन्धित विद्युतीय काम प्रभावित भएपछि निर्धारित तालिका केही पछाडि धकेलिएको छ। मौसम अनुकूल भएसँगै अहिले कामको गति बढाइएको छ।
आयोजनाका साइट इन्जिनियर धिरज राउतका अनुसार जडान गर्नुपर्ने कुल ६२ देखि ६६ वटा पोलमध्ये ५० प्रतिशतभन्दा बढीको काम सकिएको छ। नारायणगढ प्रवेश गर्ने मुख्य नाकामध्येको पुल्चोकमा भने छिट्टै बत्ती बालेर परीक्षण गर्ने तयारी भइरहेको छ।
नयाँ प्रणालीका लागि ७ मिटर उचाइ र ६ मिटर आर्म भएका ‘भेक्युलर पोल’ तथा पैदलयात्रीलाई संकेत दिन छुट्टै ‘पेडेस्ट्रियन पोल’ राखिएको छ। पारस बसपार्क क्षेत्रमा भइरहेको काम सकिएपछि बाँकी करिब ३० वटा पेडेस्ट्रियन पोल दुईदेखि तीन दिनभित्र जडान गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
अहिले मिटर राख्ने, काउन्टर जडान गर्ने र कन्ट्रोल बक्स जोड्नेलगायत काम पनि सँगसँगै भइरहेका छन्।
कन्ट्रोल रुमबाटै समय व्यवस्थापन
भरतपुरमा जडान भइरहेको ट्राफिक लाइट सामान्य रातो, पहेँलो र हरियो संकेतमा मात्र सीमित रहने छैन। काउन्टर प्रणालीसहितका बत्तीले सीधा जाने तथा दायाँ–बायाँ मोड्ने सवारीलाई छुट्टाछुट्टै संकेत दिनेछन्। पैदलयात्रीका लागि पनि सडक पार गर्ने समयबारे स्पष्ट संकेत उपलब्ध हुनेछ।
यसको अर्को महत्त्वपूर्ण पक्ष केन्द्रीय नियन्त्रण प्रणाली हो। ६ वटै चोकका ट्राफिक लाइट जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटरमार्फत निगरानी र व्यवस्थापन गर्न सकिनेछ। सवारीको अवस्था हेरेर कुन चोकमा कति सेकेन्डसम्म कुन संकेत दिने भन्ने समयसमेत नियन्त्रण गर्न मिल्ने व्यवस्था राखिएको छ।
यसले व्यस्त समयमा एउटै चोकमा अनावश्यक रूपमा लामो समय सवारी रोकिराख्नुपर्ने अवस्था घटाउन र सवारीको प्रवाह व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समयमै काम नसक्दा ठेकेदारलाई दैनिक जरिवाना
ट्राफिक लाइट जडानको ठेक्का एभरेस्ट टु सी–अमरज्योति जेभीले १ करोड २३ लाख रुपैयाँमा पाएको हो। कम्पनीले २०८२ साउन २० मा ठेक्का पाएको र सम्झौताअनुसार चैत २० सम्म काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो।
तर निर्धारित अवधिमा आयोजना पूरा भएन। त्यसपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना लगाउँदै काम जारी राखिएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले बताएका छन्।
निर्माण पक्षले भने ढिलाइका पछाडि विभिन्न प्राविधिक र परिस्थितिजन्य कारण रहेको जनाएको छ। साइट इन्जिनियर राउतका अनुसार काठमाडौँमा आन्दोलनका क्रममा क्षति पुगेका बत्ती तथा प्राविधिक संरचना मर्मतमा जनशक्ति परिचालन गर्नुपरेको थियो। विभागबाट आवश्यक प्राविधिक लाइनअप प्राप्त गर्न लागेको समय र उपकरण ढुवानीमा आएको अवरोधले पनि प्रारम्भिक काम प्रभावित भएको उनको भनाइ छ।
ढिलाइका बीच अहिले आयोजना सञ्चालनतर्फ केन्द्रित भएको छ। बाँकी पोल, विद्युतीय जडान, काउन्टर र नियन्त्रण प्रणालीको काम पूरा भएपछि भरतपुरका यी ६ व्यस्त चोक एउटै प्रविधिमा आधारित ट्राफिक व्यवस्थापन प्रणालीमा जोडिनेछन्।

