आज नेपालमा मौसमको अवस्था

Read this article also in : English

नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वतिर बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। त्यसको असर देशभरको मौसममा स्पष्ट देखिन थालेको छ। एकातिर केही प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने अर्कोतर्फ तराई क्षेत्रमा अत्यधिक गर्मी र ‘लू’ को जोखिम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरै भागमा मौसम बद्लिने संकेत गरेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा दिनभर बादल लाग्ने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

हाल कोशी र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का पानी परेको मौसमविद्ले बताएका छन्।

पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मीको जोखिम

मधेस प्रदेश र लुम्बिनीका धेरैजसो भूभागमा अहिले आंशिक बदली रहेको छ। तर तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहेकाले तापक्रम बढ्ने क्रम जारी रहने देखिएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना छ। पहाडी क्षेत्रमा पनि गर्मीको असर महसुस हुन सक्ने चेतावनी दिइएको छ।

रातिसम्म वर्षाको सम्भावना

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन्।

केही स्थानमा रातिको समयमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google