आशिका तामाङ र सभामुखबीच बोल्ने समयलाई लिएर विवाद

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
आशिका तामाङ र सभामुखबीच बोल्ने समयलाई लिएर विवाद

प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच बोल्ने समयलाई लिएर केहीबेर सवाल–जवाफको अवस्था बन्यो। आकस्मिक समयमा आफ्नो विषय राख्न खोजेकी तामाङलाई सभामुखले सुरुमा समय दिएनन्। तर उनी आफ्नो स्थानमा उभिइरहेपछि अन्ततः बोल्ने अवसर पाइन्।

सांसद तामाङले आकस्मिक समयमा बोल्न समय मागेकी थिइन्। उनले उठाउन खोजेको विषय आकस्मिक प्रकृतिको नभएको भन्दै सभामुख अर्यालले तत्काल समय उपलब्ध गराउन अस्वीकार गरे।

विज्ञापन
khoj2

तामाङले राख्न खोजेको विषयमा सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै सभामुखले उनलाई बस्न आग्रह गरे। तर सभामुखको आग्रहपछि पनि उनी उभिइरहिन् र आफ्नो कुरा राख्ने प्रयास जारी राखिन्।

त्यसपछि सभामुख अर्यालले संसदीय प्रक्रिया र प्रतिनिधिसभाको मर्यादा पालना गर्न तामाङलाई सचेत गराए।

‘माननीय सदस्य आशिका तामाङ, यो प्रतिनिधिसभा हो। यहाँको मर्यादा कायम गर्नुस्। मैले माननीय सदस्यलाई समय दिएको छैन, माइक पनि दिएको छैन। त्यसकारण माननीय सदस्यले एकोहोरो बोल्ने होइन,’ सभामुख अर्यालले भने।

सभामुखको पटक–पटकको आग्रहका बाबजुद तामाङ बस्न तयार नभएपछि बैठक केहीबेर सोही विषयमा केन्द्रित भयो। अन्ततः सभामुख अर्यालले उनलाई आफ्नो विषय राख्न बोल्ने समय दिए।

प्रतिनिधिसभामा आकस्मिक समय तत्काल सार्वजनिक महत्त्वका विषय उठाउन प्रयोग गरिन्छ। सोमबारको बैठकमा भने तामाङले उठाउन खोजेको विषय आकस्मिक समयअन्तर्गत पर्छ वा पर्दैन भन्ने सभामुखको निर्णयकै कारण केहीबेर असहज अवस्था देखिएको हो।