भद्रपुर प्रादेशिक अस्पतालमा एक वर्षमै प्रसूति सेवा दोब्बर
भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति गराउन पुग्ने महिलाको संख्या एक वर्षमै दोब्बरभन्दा बढी भएको छ। विशेषज्ञ चिकित्सक थपिएको, सेवा विस्तार भएको र सरकारी अस्पतालप्रतिको भरोसा बढेको प्रभाव अस्पतालको प्रसूति सेवामा देखिएको हो।
अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ७८७ मात्र थियो। अर्थात् एक वर्षको अन्तरमा सेवाग्राही ९२१ जना थपिएका छन्।
यो वृद्धि अघिल्ला वर्षको सामान्य उतारचढावभन्दा निकै ठूलो हो। आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ८१९ जनाले प्रसूति सेवा लिएका थिए। त्यसको अर्को वर्ष संख्या घटेर ७८७ मा झरे पनि गत आर्थिक वर्षमा एकाएक उल्लेख्य वृद्धि भएको अस्पतालको तथ्यांकले देखाउँछ।
तथ्यांक शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार गत आर्थिक वर्ष अस्पतालमा भएका प्रसूतिमध्ये ७६५ जनाले सामान्य प्रक्रियाबाट बच्चा जन्माएका थिए। ९२२ जनाको शल्यक्रियामार्फत प्रसूति गरिएको थियो भने जटिलता देखिएका २१ जनामा ‘भ्याकुम’ प्रविधि प्रयोग गरिएको थियो।
यी विवरणअनुसार अस्पतालमा शल्यक्रियामार्फत गराइने प्रसूतिको हिस्सा सामान्य प्रसूतिभन्दा बढी देखिएको छ।
सेवाग्राही बढेसँगै अस्पतालले प्रसूति तथा स्त्रीरोग सेवामा विशेषज्ञ चिकित्सकको संख्या पनि बढाएको छ। निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार यसअघि डा. एलिजा गौतमले मात्रै प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा सेवा दिँदै आएकी थिइन्।
गत वर्ष डा. विपा पोखरेल थपिएकी थिइन् भने चालु वर्षको असारदेखि डा. एलिजा भट्टराई पनि अस्पतालमा जोडिएकी छन्। यससँगै अहिले अस्पतालमा तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन्।
अस्पताल प्रशासनले विशेषज्ञ जनशक्ति थपिनु मात्रै नभई प्रसूति सेवाको पहुँच र गुणस्तरमा आएको सुधारलाई पनि सेवाग्राही वृद्धिको कारण मानेको छ। सरकारी स्वास्थ्य संस्थाबाटै सहज र भरपर्दो सेवा पाइने विश्वास बढ्दै जाँदा भद्रपुरसहित आसपासका क्षेत्रका महिलाले निजी स्वास्थ्य संस्थाको विकल्पमा प्रादेशिक अस्पताल रोज्न थालेको प्रशासनको भनाइ छ।
एक वर्षमै प्रसूति सेवाग्राही दोब्बरभन्दा बढी हुनु अस्पतालप्रतिको बढ्दो विश्वासको संकेतसँगै सेवा व्यवस्थापनका लागि थप जिम्मेवारी पनि हो। बढ्दो चापअनुसार विशेषज्ञ जनशक्ति, शल्यक्रिया सेवा र प्रसूति व्यवस्थापनको क्षमता कायम राख्नु अब अस्पतालका लागि उत्तिकै महत्वपूर्ण बनेको छ।

