इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोडिँदै

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोडिँदै

रोजगारी खोजिरहेका युवा र दक्ष जनशक्ति खोजिरहेका रोजगारदाताबीचको दूरी घटाउने उद्देश्यसहित सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ। असोज २० गतेसम्म चल्ने मेलामा युवाको सीप पहिचानदेखि व्यावहारिक तालिम, रोजगार मिलान र उद्यमशीलतासम्मका कार्यक्रम समेटिएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना गरेको मेलालाई केवल प्रदर्शनीमा सीमित नराखी सीप सिक्ने र काम खोज्ने प्रक्रियालाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको छ।

विज्ञापन
khoj2

मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा थारू समुदायको नृत्य र नौमती बाजासहित सांस्कृतिक प्रस्तुति पनि राखिएको छ।

मन्त्रालयका अनुसार मेलाको पहिलो दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सहभागी युवाको सीप र रुचि पहिचानमा केन्द्रित गतिविधि सञ्चालन हुनेछन्। तालिमका लागि सहभागी छनोट र समूह विभाजनसँगै उनीहरूको सीप प्रोफाइल तयार गरी सम्भावित रोजगारसँग मिलान गर्ने प्रक्रिया अघि बढाइनेछ।

युवाले रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष संवाद गर्न सक्ने व्यवस्था पनि मेलामा गरिएको छ। आवश्यक तालिम, उपलब्ध रोजगारी र त्यसका लागि चाहिने योग्यताबारे सूचना तथा परामर्श सेवा एकै ठाउँबाट उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

भोलिदेखि असोज १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गर्ने कार्यक्रम छ। उद्योग, सेवा, कृषि र निर्माणलगायत क्षेत्रमा केन्द्रित मेलामा ६५ वटा स्टल रहनेछन्। तालिमलाई श्रम बजारमा देखिएको जनशक्तिको मागसँग जोडेर सञ्चालन गर्ने तयारी गरिएको छ।

मन्त्रालयले मेलाको अवधारणालाई ‘माग–सीप तालिम–रोजगार’ चक्रसँग जोडेको छ। रोजगारदाताले आवश्यक सीप भएको जनशक्ति खोज्दा भोग्ने समस्या र काम खोजिरहेका युवाले उपयुक्त अवसरसम्म पुग्न नसक्ने अवस्थालाई एउटै प्रणालीबाट सम्बोधन गर्ने यसको लक्ष्य हो।

यसका लागि मेलास्थलमा प्रत्यक्ष सम्पर्कसँगै अनलाइन माध्यमबाट समेत ‘जब म्याचिङ’ गरिनेछ। युवाको योग्यता र सीपसँग मेल खाने रोजगारी पहिचान गरी रोजगारदातासम्म जोड्ने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

मेलामा रोजगारी खोज्ने प्रक्रियासँगै आफ्नै उद्यम सुरु गर्न चाहने युवालाई पनि प्राथमिकतामा राखिएको छ। उद्घाटनपछि ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ विषयमा प्यानल छलफल हुने कार्यक्रम छ। छलफलमा युवालाई जागिर खोज्ने भूमिकामा मात्र सीमित नराखी उपलब्ध सीप र अवसरलाई उद्यममा रूपान्तरण गर्ने सम्भावनाबारे बहस गरिनेछ।

मेला अवधिभर प्रदर्शनी, सूचना तथा परामर्श, रेफरल सेवा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफल जारी रहनेछन्। तीनै तहका सरकारसँगै निजी क्षेत्र, उद्योगी–व्यवसायी, रोजगारदाता, विकास साझेदार तथा शैक्षिक र तालिम प्रदायक संस्थालाई एउटै मञ्चमा ल्याउने तयारी छ।

सुनसरी–मोरङ औद्योगिक करिडोर आसपासका स्थानीय तह र निजी क्षेत्रका संस्थाको समेत सहकार्य रहने मन्त्रालयले जनाएको छ। औद्योगिक गतिविधि बढी भएको क्षेत्रमा रोजगारदाताको वास्तविक आवश्यकता पहिचान गरी त्यसअनुसार जनशक्ति तयार पार्न सकिए मेलाबाट तालिमपछि प्रत्यक्ष रोजगारीमा पुग्ने बाटो छोटिने सरकारको अपेक्षा छ।

इटहरीको कार्यक्रमलाई अन्य प्रदेशमा समेत विस्तार गर्ने सरकारी योजना छ। आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा अघि बढाउने सरकारी नीतिसँग पनि यस्ता कार्यक्रमलाई जोडिएको छ।

नेपालमा सीप तालिमका कार्यक्रम सञ्चालन भइरहे पनि तालिमपछि रोजगारीसम्मको सम्बन्ध कमजोर रहने चुनौती पुरानै हो। त्यसैले इटहरीको मेलाको प्रभावकारिता कति युवा सहभागी भए भन्ने संख्याभन्दा पनि तालिम लिएका र सीप पहिचान भएका कति युवा वास्तविक रोजगारी वा उद्यमसँग जोडिए भन्ने परिणामबाट मापन हुनेछ।