ढल्केबरमै ट्रमा सेन्टर बनाउन माग, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
संघीय सरकारको बजेटदेखि जग्गा व्यवस्थापनसम्मको प्रक्रिया अघि बढिसकेको प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण हुनुपर्ने मागसहित धनुषामा आन्दोलन चर्किएको छ। ट्रमा सेन्टर अन्यत्र लैजाने तयारीप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले सोमबार पूर्वपश्चिम राजमार्गको ढल्केबर खण्ड आधा घण्टा अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा भइरहेको चरणबद्ध आन्दोलनको पाँचौँ दिन बिहान ११ बजेदेखि साढे ११ बजेसम्म राजमार्गमा यातायात रोकिएको हो। प्रदर्शनमा स्थानीयवासीसँगै जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता थियो।
राजमार्गमा उत्रिएका प्रदर्शनकारीले प्रस्तावित ट्रमा सेन्टर ढल्केबरबाट अन्यत्र सार्न नहुने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। आधा घण्टाको चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनको आवागमन प्रभावित भएको थियो।
विवादको केन्द्रमा सरकारले यसअघि ढल्केबरका लागि अघि बढाएको ट्रमा सेन्टरको योजना छ। बुधबार संसद्मा स्वास्थ्यमन्त्री निशा मेहताले ट्रमा सेन्टर लाहानमा बन्ने जानकारी गराएपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको हो।
त्यसपछि गत शुक्रबार संघर्ष समितिले ट्रमा सेन्टर पूर्वनिर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
आन्दोलन तत्काल रोकिने संकेत छैन। संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म चक्काजाम गरिनेछ। २७ गते आन्दोलन थप विस्तार गर्दै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरिएको छ।
बजेट विनियोजनदेखि लालपुर्जासम्म पुगेको थियो प्रक्रिया
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको योजना नयाँ भने होइन। मिथिला नगरपालिका–७ अन्तर्गत साविक ढल्केबर गाविस वडा नम्बर २ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक ट्रमा सेन्टर निर्माणका लागि रकम विनियोजन गरेको थियो।
मेयर महतोका अनुसार आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया समेत पूरा भइसकेको छ र लालपुर्जा बनिसकेको छ। स्थानीय पक्षले यही प्रक्रियालाई आधार बनाउँदै लामो समयदेखि अघि बढाइएको आयोजना अन्तिम चरणमा आएर अन्यत्र सार्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
शिलान्यासको तयारीसम्म पुगेको भनिएको आयोजना कहाँ निर्माण गर्ने भन्ने विषय अहिले विवादको केन्द्र बनेको छ। एकातिर स्वास्थ्यमन्त्रीबाट लाहानमा ट्रमा सेन्टर बन्ने जानकारी आएको छ भने अर्कोतर्फ ढल्केबरमा यसअघि नै बजेट र जग्गासम्बन्धी प्रक्रिया अघि बढिसकेको भन्दै स्थानीय तह र संघर्ष समिति पूर्वनिर्धारित स्थान परिवर्तन स्वीकार नगर्ने अडानमा छन्।
चरणबद्ध चक्काजाम घोषणा भइसकेकाले विवादको समाधान ननिस्किए आगामी दिनमा पूर्वपश्चिम राजमार्गको ढल्केबर खण्डमा यातायात थप प्रभावित हुने देखिएको छ।

