धनकुटामा ट्रकबाट १,२४० किलो गाँजा बरामद, चालक फरार
कोशी लोकमार्ग हुँदै भेडेटारतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको लागूऔषध गाँजा धनकुटामा सुरक्षाकर्मीले बरामद गरेका छन्। साँगुरीगढी गाउँपालिका–७ फेदीमा गरिएको संयुक्त चेकजाँचका क्रममा एक हजार २४० किलो ६ सय ग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिइएको हो।
बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई कोशी लोकमार्गमा रोकेको थियो।
चेकजाँचका लागि ट्रक रोकिएलगत्तै चालक भने गाडीबाट हाम फालेर फरार भएका थिए। चालकको गतिविधि र ट्रक शंकास्पद देखिएपछि सुरक्षाकर्मीले गाडीको विस्तृत जाँच गरेका थिए।
त्यसक्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो। बरामद गाँजाको तौल एक हजार २४० किलो ६ सय ग्राम रहेको जनाइएको छ।
ट्रक र गाँजा नियन्त्रणमा लिएपछि प्रहरीले फरार चालकको खोजी तीव्र बनाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो, यसको गन्तव्य कहाँ थियो र ओसारपसारमा अरू व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ।

