शनिबार पूर्वी नेपालका चार जिल्लामा १२ घण्टा विद्युत् बन्द हुने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
शनिबार पूर्वी नेपालका चार जिल्लामा १२ घण्टा विद्युत् बन्द हुने

पूर्वी नेपालका चार जिल्लासहित मोरङका केही क्षेत्रमा शनिबार करिब १२ घण्टासम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण पूर्वाधार विस्तार र सबस्टेशन सञ्चालनसँग सम्बन्धित प्राविधिक कामका लागि अस्थायी रूपमा विद्युत् सेवा बन्द गर्न लागिएको जनाएको हो।

प्राधिकरणका अनुसार साउन २३ गते शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाभर विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। त्यसैगरी मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा पनि सोही अवधिमा विद्युत् सेवा प्रभावित रहनेछ।

विज्ञापन
khoj2

विद्युत् अवरोधको मुख्य कारण मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनका उपकरण परीक्षण तथा सञ्चालन प्रक्रिया र दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ। यही क्रममा केरौन क्षेत्रमा टावर नम्बर ६८ र ६९ बीच डेड–एन्ड टावर जडान गर्ने काम पनि सम्पन्न गरिनेछ।

प्राधिकरणका अनुसार यी कामहरू विद्युत् प्रणालीको क्षमता र विश्वसनीयता सुधार गर्ने दीर्घकालीन योजनाअन्तर्गत भइरहेका हुन्। त्यसैले केही समयका लागि सेवा अवरुद्ध भए पनि भविष्यमा विद्युत् आपूर्तिलाई थप स्थिर र भरपर्दो बनाउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्युत् प्राधिकरणले निर्धारित प्राविधिक कार्य सकिएलगत्तै सेवा पुनः सञ्चालन गरिने जनाएको छ। यदि काम तोकिएको समयभन्दा अघि सम्पन्न भए विद्युत् आपूर्ति पनि निर्धारित समयभन्दा अगावै सुचारु गरिनेछ।

यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले प्रभावित क्षेत्रका सेवाग्राहीलाई आवश्यक तयारी गर्न र सहयोगका लागि आग्रह गरेको छ।