प्रधानमन्त्री राहत कोषमा नक्कली सहयोग विवरण बनाउने युवक पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
प्रधानमन्त्री राहत कोषमा नक्कली सहयोग विवरण बनाउने युवक पक्राउ

बाढी प्रभावितको उद्धार र राहतका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्। प्रहरीका अनुसार उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको देखिने नक्कली स्टेटमेन्ट तयार पारेका थिए।

विज्ञापन
khoj2

प्रहरीको प्रारम्भिक विवरणअनुसार उक्त स्टेटमेन्ट बनाउन ChatGPT प्रयोग गरिएको पाइएको छ। कार्कीले रकम सहयोग गरेको दाबी गरिएको विवरणसँगै आफ्नो QR कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावितहरूको उद्धार तथा राहतका लागि सहयोग संकलन भइरहेको सन्दर्भमा यस्तो गतिविधि भएको हो। विपद्को संवेदनशील अवस्थालाई जोडेर सरकारी राहत कोषमा सहयोग गरेको भ्रम सिर्जना गरिएको विषयलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।

सरकारी कोषमा रकम जम्मा गरेको जस्तो देखिने नक्कली प्रमाण तयार पार्नु र त्यससँगै व्यक्तिगत QR कोड सार्वजनिक गर्नुले राहत सहयोगका नाममा सर्वसाधारण भ्रममा पर्ने जोखिमसमेत देखिएको छ।

प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेकाले नक्कली विवरण तयार गर्नु र QR कोड सार्वजनिक गर्नुको उद्देश्य तथा त्यसबाट कसैबाट रकम संकलन भए–नभएको विषयमा थप तथ्य खुल्न बाँकी छ।