गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?

आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ। घटनाको निष्पक्ष छानबिन, तत्काल खटिएका नगर प्रहरीको निलम्बन, परिवारलाई राहत तथा मृतककी श्रीमती र छोरीको भविष्यसँग जोडिएका विषयमा समझदारी बनेपछि परिवार शव बुझ्न तयार भएको हो।

सहमतिसँगै त्रिवि शिक्षण अस्पतालमा रहेको नेपालीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारले बुझ्नेछ। शव परीक्षण, अन्तिम संस्कार र काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने सहमतिमा उल्लेख छ।

मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए। बिहीबार आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो। घटनापछि परिवार र आफन्तले मृत्युको निष्पक्ष अनुसन्धान तथा दीर्घकालीन राहतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए।

सरकारी पक्ष र परिवारबीच यसअघि भएका वार्ता निष्कर्षमा पुग्न सकेका थिएनन्। शनिबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफल पनि सहमतिविहीन बनेको थियो। आइतबार दिउँसोदेखि पुनः सुरु भएको वार्तामा समझदारी जुटेको हो। सम्झौताको प्रक्रियाका लागि गृहमन्त्री सुधन गुरुङसमेत जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

सहमतिपत्रमा सरकारका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। परिवारका तर्फबाट नेपालीकी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपालीसहित १३ जनाको हस्ताक्षर छ।

यस्ता छन् सरकार र परिवारबीच भएका ९ बुँदे सहमति

१. स्वतन्त्र छानबिन समिति गठन
घटनाको सत्यतथ्य पत्ता लगाउन तथा निष्पक्ष अनुसन्धान गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको मितिले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।

२. सहिद घोषणाको प्रक्रिया अघि बढाइने
गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।

३. घटनास्थलमा खटिएका नगर प्रहरी निलम्बन गरिने
घटना भएको दिन घटनास्थलको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरपालिकालाई पत्राचार गर्नेछ। उनीहरूमाथिको थप निर्णय छानबिन समितिको प्रतिवेदन र सिफारिसअनुसार हुनेछ।

४. श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षासम्म सहयोग
काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णयअनुसार मृतककी श्रीमतीलाई उनको योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च पनि महानगरपालिकाले व्यहोर्नेछ। यसका लागि सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्नेछन्।

५. आश्रित परिवारलाई राहत रकम
काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ।

६. अन्तिम संस्कार र काजक्रियाको व्यवस्थापन
मृतकको अन्तिम संस्कारका लागि आवश्यक सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाउनेछ।

७. परिवारले शव बुझ्ने
पीडित परिवार तथा आफन्तले मृतकको शव बुझ्नेछन्। शव परीक्षणलगायत कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गरी अन्तिम संस्कार गर्ने जिम्मेवारी परिवार पक्षले लिनेछ।

८. यातायात र बसोबास खर्च महानगरले व्यहोर्ने
मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ गर्ने यातायात खर्च तथा काजक्रिया अवधिभर काठमाडौंमा बस्दा लाग्ने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।

९. परिवारको स्वास्थ्य बिमा गरिने
मृतकका एकाघरका परिवारजनको स्वास्थ्य बिमाका लागि सम्बन्धित निकायबाट आवश्यक व्यवस्था मिलाइनेछ।